नेकपामा आन्तरिक विवाद: ओलीले प्रचण्ड र नेपाललाई भने- म एउटै पद छोड्दिन, जे मन लाग्छ गर्नुहोस्

अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बिहीबारको छलफल विना निष्कर्ष सकिएपछि नेकपाभित्रको विवाद थप जटिल अवस्थामा पुगेको छ।

यसअघि दुई अध्यक्षबीच मात्रै हुँदै आएको छलफलमा नेपाल र पौडेल थपिएर कुरा हुँदा पनि दुई पक्ष आआफ्नो अडानमा पुनविचार गर्ने पक्षमा देखिएनन्।

चार नेताबीच भएको कुराकानीमा दाहाल–नेपालले यसअघि झै ओलीलाई राजनीतिक र कुटनीतिक रुपमा सरकार असफल भएकाले दुई पदमध्ये एक (प्रधानमन्त्री) पद त्याग्न आग्रह गरेका थिए।

जवाफमा ओलीले बिहीबार पनि आफूले दुवै पद नलाग्ने जवाफ दिएका छन्। बालुवाटार निकट स्रोतले ओलीको भनाइ उद्धृत गर्दै भन्यो, ‘म कुनै पनि पद छोड्दिन। तपाईंहरुलाई स्थायी समिति बैठकबाट जे जस्तो निर्णय लिन मन लाग्छ लिनुहोस्।’

ओलीले स्थायी समिति बैठक सामाना गर्न आफू तयार रहेको बताउँदै आएका छन्, उक्त कुरा बिहीबार पनि दोहो¥याएका हुन्।
ओलीको यस्तो जवाफसँगै बिहीबार पनि बालुवाटार विना निष्कर्ष सकिँदै सहमतिको संभावना अन्त्य भएको छ। शीर्ष नेताको छलफल विना निष्कर्ष सकिए पनि असार १८ गतेदेखि स्थगित हुँदै असार २ गते(भोलि) का लागि तोकिएको स्थायी समिति बैठक नरोक्ने सहमति नेताहरुबीच भएको छ।
भोलिको बैठक नरोकिएसँगै अब नेकपाभित्रको विवाद जोड घटाउन प्रवेश गर्ने अवस्थामा पुगेको छ। तर दाहाल नेपाल पक्ष अझै पनि बहुमतबाट निर्णय गरेर अघि बढ्ने निर्णयमा पु्गिसकेको छैन।

स्थायी समितिमा दाहाल निकट नेता देवेन्द्र पौडेलले सहमतिको संभावना सकिएको बताए। पौडेलले अहिलेसम्मको वस्तुस्थितिको समीक्षा गरेर अघि बढ्ने जानकारी दिए।

उनले भने, ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा आजको छलफललाई समेत लिएर हामीबीच अहिलेसम्मको अवस्थाबारे गम्भीर समीक्षा हुन्छ। त्यसकै आधारमा अघि बढ्छौं।’ ४५ सदस्यीय स्थायी समितिमा दाहाल र नेपालको पक्षमा ३० हाराहरी संख्या छ।

नेता नेपाल पक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा दाहाल पक्षधर भन्दा पनि कट्टर रहेको अवस्थामा शुक्रबारको स्थायी समिति बैठक बहुमतका आधारमा अघि बढ्ने निश्चित जस्तै भएको उक्त खेमाका एक नेताले बताए।

नेपाल पक्षीय एक नेताले भने, ‘अब बहुमतबाट अघि बढ्ने अवस्थामा पुगेका छौं। यदि पार्टीको निर्णय ओलीजीले मान्नु भएन वा पार्टी फुटको अवस्थामा पुग्यो भने कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ।’

दाहाल-नेपालले बहुमतका आधारमा निर्णय गरे ओलीले पार्टी फुटाउने चेतावनी दिँदै आएका छन्। चिनियाँ पक्षले ओलीलाई प्रधानमन्त्रीबाट नहटाउन दबाब दिए पनि दाहाल नेपालले उनी हटे पनि दुई देश र पार्टीबीचको सम्बन्धमा कुनै असर नपर्ने जवाफ दिएको स्रोतको दाबी छ।