सरिता गिरीलाई सांसदबाट हटाउने पत्र संसदमा, १५ दिनमा औपचारिक रुपमै पद जाने

सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको छ।

मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार संसदीय दलले उनलाई सांसद पदबाट हटाउन संसदलाई जानकारी गराएको हो।

पार्टीको पत्र बुधबार संघीय संसदका महासचिवलाई बुझाइएको प्रमुख सचेतक उमाशंकर अगरगरियाले जानकारी दिए।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनु पर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको गरेको थियो।

सचिवालयमा निवेदन दर्ता भएसँगै अब १५ दिनभित्र गिरीको सांसद पद जानेछ।

दलले पदबाट हटाउन पत्र पठाएको १५ दिनभित्र आवश्यक जाँचबुझ गरी सचिवालयले संसद चलेको भए संसदमा र नचलेको भए सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सूचना प्रकाशितपछि सचिवालयले त्यसको जानकारी निर्वाचन आयोगलाई दिनेछ।