पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान–टु–वान वार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भए पनि ठोस सहमति भए नभएको बारे जानकारी नभएको उनले बताए ।
सोमबारदेखि नियमित बसिरहेकोवान–टु–वान वार्ता सकारात्मक भइरहेकाले पार्टीका नेतामा सहमति हुने आशा पलाएको छ । शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले भोलिसम्म ठोस सहमति गर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाइ छ ।
प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
असार १० गते सुरु भएको स्थायी समिति बैठकमा एकाएक ओलीको राजीनामाको विषय प्रवेश गरेपछि दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाएका छन्।
ओली भने दुवै पदबाट राजीनामा नदिने पक्षमा उभिएका छन्।
ओली र दाहालबीच २०७२ जेठ २ गते भएको सहमित कार्यान्वनय गर्ने किन गत मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्नेमा छलफल केन्द्रित रहेको स्रोतको दाबी छ।











