नेकपाको जारी स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले राजीनामा माग्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने प्रयास भए पनि असफल हुने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामकारबाहीप्रति आलोचना गर्दै दाहाल–नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरिरहेका बेला ओलीले त्यसअघि नै आफूलाई हटाए ‘देशको हितमा बोल्ने कुनै प्रधानमन्त्री नहुने’ चेनावनी दिएका हुन्।

जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालको राष्ट्रिय हितको पक्षमा आफू दृढता पूर्वक उभिएकाले पदबाट हटाउन पार्टीभित्र र भारतीय पक्ष लागेको दाबी गर्दै कार्यकर्ता तथा जनताको साहनुभुति लिने प्रयास गरेका हुन्।
ओलीले मदन भण्डारीको असल विचारलाई आफूले नै अंगिकार गरेकाले उनीप्रति कार्यकर्तामा रहेको भावनात्मक सम्बन्धलाई तान्ने कोसिस गरे।
बुधबार सुरु भएको स्थायी समिति बैठक तीन दिन बसेर १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबारदेखि स्थायी समिति बैठकमा सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबारे छलफल गर्ने कार्यसूची तय भएको छ। आफूले देशको अतिक्रमित भूमी समेटेर संविधान संशोधन र नक्सा सार्वजनिक गर्ने काम गरेकाले त्यसको परिणाम स्वरुप पदबाट हटाउने खेल भइरहेको दाबी गरेका हुन्।











