अमेरिकाको टेक्सासमा मास्क लगाउनु पर्ने नियम लागु नहुँदा कोरोना संक्रमण उच्च

लगातार कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका अमेरिकाको टेक्सासका गभर्नरले अन्ततः कोरोना भाइरस अति ‘खतरनाक’ अवस्थामा आएको बताएका छन् ।

अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा सञ्चालन अनुमति दिइएका व्यवसायहरुमा संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि प्रतिबन्ध लगाइएको छ ।

राज्यका गभर्नर ग्रेग अबोटले कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बिस्तार भएको र अति जोखिमपूर्ण मोड लिएको भन्दै चेतावनी दिएका हुन् ।

उनले आइतबार भनेका छन्, ‘पछिल्लो केही हप्तामै दैनिक संक्रमणको औषत झण्डै दुई हजारबाट पाँच हजार भन्दा बढी पुगेको छ ।’

लकडाउन खुकुलो बनाएपछि अमेरिकाका दक्षिणी तथा पश्चिमी राज्यहरुमा संक्रमणदर तीव्र गतिमा बढिरहेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ४४ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २५ हजार सात सयजना भन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्ला दिनमा टेक्सास र फ्लोरिडासहितका राज्यमा संक्रमणदर उच्च रुपमा बढिरहेको छ । ती राज्यमा अस्पताल भर्ना हुने संक्रमितको संख्या बढ्दो क्रममा छ ।

टेक्सासका गभर्नर अबोटले राज्यमा दैनिक पाँच हजार भन्दा बढी मानिस संक्रमणको उपचारका लागि अस्पताल भर्ना हुने गरेको बताए ।

उपराष्ट्रपति माइक पेन्सले टेक्सासलाई आवश्यकता अनुसार थप परीक्षण किट प्रदान गरिने बताएका छन् । उनले टेक्सासका बासिन्दालाई मास्क लगाउन पनि अपिल गरेका छन् ।

गभर्नर अबोटसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएकी अमेरिकी तल्लो सदनकी सभामुख न्यानसी पेलोसीले स्वास्थ्य विज्ञ र सम्बन्धित निकायले सुझाएको मास्क लगाउनु पर्ने नियम अझै पनि देशका धेरै स्थानमा लागु नभएको बताइन् ।