भारत र चीनको हिमाली सीमा क्षेत्रमा भएको प्राणघाती भिडन्तमा भारत जिम्मेवार हुनुपर्ने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता बरिष्ठ कर्नल वु कियानले बुधबार दिएको अभिव्यक्तिलाई सीएनबीसीले गरेको अनुवाद अनुसार ‘चीन भारत सीमा भएको द्वन्द्वको समग्र जवाफदेयी भारतमा छ । सीमा क्षेत्रमा शान्ति कायम हुनेमा चीनले आशा गर्छ’
गत सोमबार लद्दाखको गलवान उपत्यकामा दुबै देशका सेनाहरुबीच हिंसात्मक भिडन्त भएको थियो । २० भारतीय सेनाका जवानको मृत्यु भएको थियो । भारतले पनि सो भिडन्तमा ४० जना चिनियाँ सेनाको मृत्यु भएको भनी गरेको सार्वजनिक समाचार गलत भएको चीनले जनाएको छ ।
मे महिनाको शुरुदेखि भारतीय सेनाले सीमापार आउन खोजेकोमा चिनियाँ पक्षले त्यहाँ रोक लगाउन प्रयास गरेको चिनियाँ पक्षको दाबी छ ।
यसैबीच चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउनु पर्ने माग गरेको छ । चीनले यो माग जुन ६ र २२ मा भएको सैन्य कमाण्डर तहको वार्ता तथा बुधबार भएको विदेश मन्त्रालय तहको वार्तामा प्रस्तुत गरेको जनाइएको छ ।
बुधबार भएको वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को वार्तामा दुवै पक्ष अहिलेको तनाव शान्तिपूर्ण रुपमा समाधान गर्न सहमत भएका छन् ।
चीनको तर्फबाट गलवान उपत्यकाबाट भारतीय सैनिक हटाउने पर्ने माग प्रमुखताका साथ उठाइएका बेला डब्लुएमसिसीको बैठकमा शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति भएको भारत र चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।