नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका एक र ललितपुरका एक जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला–१ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो।

यस्तै ललितपुरको महालक्ष्मी–५ का ५० वर्षिय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो। पाँच महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ।

अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना र ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन्।

बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन्। आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ।

हालसम्म कोरोनाको संक्रमण ७६ जिल्लामा फैलिएको छ।