बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो ।
नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु सञ्चालन हुन पाउने नगरप्रमुख थापाले बताए ।
सामाजिक दूरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएकोे छ । यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तिय संस्था हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने उल्लेख गरिएको छ ।
दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या २९ पुगेको छ । यसअघि बैतडीकै पाटन नगरपालिकाले पनि असार ८ गतेदेखि १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरिसकेको छ ।