नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाध्यो

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरु मध्ये ३५७ जना पुरुष र ६४ जना महिला छन्।

यस्तै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। गुल्मीका एकजनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरे। असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका बिरामी थिए। असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९४ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८ र आरडिटी विधिबाट ९ हजार ८ सय ७४ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ७५ हजार १७३ र आरडीटीबाट २ लाख ६२ हजार १७४ वटा परीक्षण भएको जानकारी दिए।

डा.गौतमका अनुसार हाल देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ७ हजार २३१ जना रहेका छन्।

कोरोनाको संक्रमण हालसम्म ७५ जिल्लामा फैलिएको छ।