सरकारले ८० दिन लामो लकडाउनपछि मोडालिटी परिवर्तन गर्ने योजना ल्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै नेपाल सरकारको प्रवक्ता तथा संचार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेका हुन् ।
योजना अनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ भने सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा बन्द नै रहनेछ ।
यसैगरी पसल र डिपार्टमेन्ट स्टोरहरु विना कुनै रोकतोक खुलेतापनि सपिङ मलहरु खुल्ने छैनन् ।
रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खोल्न पाउने भएका छन् भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरु बन्द नै रहनेछन् ।
त्यसैगरी सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालयहरु विहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्ने भएको छ ।
विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द नै हुने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सञ्चालन नहुने क्रियाकलापहरु यस्ता छन् :
१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)
२. अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।
३. तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत
४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
८. स्पा, सैलुन र ब्यूटीपार्लर
१०. स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु
११. सपिङ मलहरु
१२. समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु
१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु
१४. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।
१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।