कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुग्यो

3D illustration of Coronavirus, virus which causes SARS and MERS, Middle East Respiratory Syndrome

अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो। उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको थियो।

घाँटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा गएका उनी अस्पताल भर्ना नभई फर्कँदै गर्दा उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो। योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो।