कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुने अपेक्षा सान्दर्भिक रहेको अनुसन्धानमा संलग्न अमेरिकी आर्मीका उच्च अधिकारीले बताएकी छन् ।
अमेरिकी सैनिकका खोप अनुसन्धानकर्ता कर्णेल वेन्डी सामोन्स–ज्याक्सनले यो वर्षको अन्त्यसम्म केही अमेरिकीका लागि खोप उपलब्ध हुन सक्ने बताएकी हुन् ।

रक्षा मन्त्री मार्क एस्परले गएको मे १५ मा अमेरिकी आर्मी खोपको अनुसन्धानमा संलग्न सरकारी तथा निजी क्षेत्रसँग सन् २०२० सम्मको अन्त्यसम्ममा खोप बनाउने गरी सहकार्य थालेको बताएका थिए ।
अमेरिकी सैनिकको इन्फेक्सस डिजिज रिसर्च कार्यक्रमकी निर्देशक कर्णेल ज्याक्सनले मंगलबार रक्षा मन्त्रालयल पेन्टागनमा भएको ब्रिफिङ्गको क्रममा भने, ‘खोपको केही स्वरुप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुन्छ भनेर अपेक्षा गर्नु सान्दर्भिक छ । केही मानिसका लागि खोप बन्न सक्छ
आर्मीका अर्का अनुसन्धानकर्ता डा. केभिओन मोजारडका अनुसार कोरोना भाइरस बारे अनुसन्धानकर्ताहरुले अरु भाइरस भन्दा अति छिटो बुझिरहेका छन् । उनले भने, ‘त्यसैले खोप बन्न अब केही महिना मात्रै लाग्छ । खोपको तेस्रो चरणको परीक्षणको तयारी भइरहेको छ । म अति आशावादी छु ।’
अमेरिकी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर काम गरिरहेको अमेरिकी आर्मीका अनुसन्धानकर्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । एस्ट्राजेनेका पिएसजी, जोन्सन एण्ड जोन्सन, मोदेर्ना र सानोफी एसएसँग मिलेर खोपको काम भइरहेको अमेरिकी आर्मीले जनाएको छ ।