भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन । भातरबाट आएका नेपालीहरुमा कोरोना संक्रण बढिरहेको र मृत्युको खबर सुनिरहेका बेला उनले आफु कोरोना परिक्षण बिना घरमा नजाने बताइरहेका छन् ।
कमलामाई नगरपालिका वडा नं. १४ मा रहेको चन्दनपुर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनलाई आफ्नो कारणले परिवार, समुदायमा कोरोना संक्रमण फैलिनसक्छ भन्ने कुराले सताइरहेको छ । गत शनिवार क्वारेन्टाइनमा बसेका आफ्ना नागरिकको अबस्था बुझ्न पुग्नु भएका नगरप्रमुख खड्ग खत्री विद्यालय कम्पाउण्डको ढोका खोलेर उनीहरु बसेको ठाउँमा पुगेपछि भने आफुहरु अचम्मित बनेको उनले सुनाए ।
‘हामीहरु विद्यालय भित्रको क्वारेन्टाइनमा बसेको दिनदेखी गाउँका कोही पनि मानिसहरु यहाँ आएका थिएनन्, सबैलाई कोरोना सर्ला भन्ने डर थियो, तर, मेयरसाप सरासरी हामीकहाँ पो आइपुग्नु भयो’ उनले अगाडि भने । भारतकै राँचीबाट आएका अर्का २४ वर्षीय श्रमिक जीवन पौडेलले ठट्यौली पारामै भने– अरुलाई कोरोना लाग्छ, तपाईलाई चाँही लाग्दैन कि क्या हो ! उनको कुरा सकिनासाथ नगरप्रमुख खत्रीले जवाफ फकाईपनि हाले, ‘मलाई तपाईहरुको मायाँ र ममताले कोरोना लाग्दैन ।’ १४ दिन लामो क्वारेन्टाइनमा बसेकाहरुलाई भेट्न जाने खत्रीनैं पहिलो स्थानीय सरकार प्रमुख थिए ।
चन्दनपुरको क्वारेन्टाइनमा मात्रै ४३ जना भारतको झारखण्ड, राँची, उत्तरप्रदेश र पट्नाबाट आएकाहरु बसेका छन् । उनीहरु अहिलेसम्म कोही पनि बिरामी परेका छैनन् । तर ‘मलाई कोरोना संक्रमण छैन’ भनेर निर्धक्कसँग आफ्नो गाउँको क्वारेन्टाइनबाट निस्कने धोको रहेको छ । भारतको उत्तरप्रदेशबाट आएको मनोज गदौली भन्छन्ः कोरोना लागेका मानिसहरुलाई आफ्नै टोल र छिमेकबाट अपहेलित र घृणा गरेको देखेका छौं, त्यसैले हामीहरु संक्रमित होइन स्वस्थ छौं भन्ने प्रमाण चाहिएको छ । जहिले हाम्रो हातमा त्यो प्रमाण आइपुग्छ हामी त्यसपछि मात्रै क्वारेन्टाइनबाट निस्कन्छौं, उनले भने ।
सिन्धुली जिल्लामै पहिलो पटक कमलामाई नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परिक्षण थालेको हो । सिन्धुली अस्पालले फ्रन्ट लाइनमा बसेर काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी, स्थानीय सरकार प्रमुख, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको ¥यापिड नाइग्नोष्टिक टेष्ट (आरडिटी) जाँच गराउँदा पोजेटिभ आएकाहरुलाई मात्रै पिसिआर परिक्षण गराउँदै आएको छ । तर कमलामाई नगरपालिकाले कोरोना संक्रणको उच्च जोखिमलाई ध्यानदिंदै पहिलो चरणमा भारतबाट आएका २ सय नागरिकको लागि पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्न थालेपछि क्वारेन्टाइनमा बसेकाहरुमा खुशी छाएको छ । भारतका विभिन्न राज्यबाट आएका ६५ जनाको पहिलो चरणमा स्वाब संकलन थालिएको र क्रमश रिपोर्ट आएपनि त्यसैका आधारमा उनीहरुलाई घर पठाईने नगरप्रमुख खड्गवहादुर खत्रीले जानकारी दिनुभयो । (साभारः कमलामाई फिचर सेवा)