पाल्पाको क्वारेन्टाइनमा बसेका ४६ वर्षीय पुरुषको मृत्यु

भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ।

जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए।

भारतबाट आएर रुपन्देहीको सीमानाका बेलहियाबाट पूर्वखोला गाउँपालिकाले उनीसहित ४२ जनालाई १८ गते गाउँपालिकाको क्वारेन्टाइनमा लगेको थियो।

भारतबाट आउँदा नै स्वास्थ्य समस्या देखिएका उनको स्वास्थ्य जटिल बन्ने संकेत देखिएपछि उपचारका लागि तानसेनको मिसन अस्पताल लगिएको थियो।

स्वास्थ्य संयोजक ढकालका अनुसार उनलाई ज्वरो, स्वास्वप्रश्वास र पेट फुल्ने समस्या देखिएको थियो।

उनको सोमबार थ्रोट स्वाब लिएर भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। बुधबार मात्रै रिपोर्ट आउने जानकारी आएको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए। उनको शव मिसन अस्पतालमा रहेको छ।

पूर्वखोला गाउँपालिकामा नेपाल र भारतबाट आएका ३ सय १४ जनालाई ३८ वटा क्वारेन्टाइनमा राखिएको छ।