कतारबाट नेपाल फर्कनेहरुका लागि सरकारले तोक्यो सात प्राथमिकता

सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल आउने नागरिकका लागि सात प्रकारको प्राथमिकता तोकेको छ।

मंगलबार यसबारे एक विस्तृत विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने जानकारी दिएको छ। त्यसैगरी क्रमशः भिजिट अथवा बिजनेश भिसामा रहेका व्यक्ति‚ श्रम अवधि सकिएका वा रोजगारी गुमाएका श्रमिक र कतारको आइडी समाप्त भएका वा आइडी नै नलागेका वा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले नेपाल ल्याउने जानकारी दिएको छ।

यसबारे विस्तृत विवरण राजदूतावासको इमेल वा ह्वाट्सएपमा पठाउन पनि राजदूतावासले सम्बन्धितसँग आग्रह गरेको छ।