प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममाथिको छलफल सकिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली दिने भएका हुन्।
संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा मंगलबार दिउँसो १२ बजे ओलीले संसदमा नीति कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेछन्।
आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन्।
आइतबार ३९ जना र सोमबार ७१ जनाले नीति कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रमका सक्त बचाउ गरेका छन्, भने विपक्षी दलका सांसदहरुले देशको वास्तविक समस्या समाधान गर्ने गरी नीति कार्यक्रम नआएको भन्दै आलोचना गरेका छन्। यस्तै राष्ट्रियसभामा पनि नीति कार्यक्रमकाथिको छलफल सकिएको छ।