कोरोना महामारीकाबिच भएको खेलमा बार्यन म्युनिख विजयी

कोरोना भाइरसको महामारीकाबिच पुनः सुरु भएको जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्यन म्युनिखले जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले एफसी युनियन बर्लिनलाई २–० ले पराजित गरेको हो।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी खेलहरु महामारी केही कमजोर भएसँगै बन्द रंगशालामा गरेर पूरा गर्ने अभियान स्वरुप शनिबारदेखि लिग पुनः सुरु भएको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले गोल गरेका हुन् । ४० औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए ।

पाभार्डले ४० औँ मिनेटमा गोल गरेपछि बार्यन २–० ले विजयी भएको हो । जितपछि शीर्ष स्थानको बार्यनको २६ खेलबाट ५८ अंक भएको छ ।

दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको समान खेलबाट ५४ अंक छ । आइतबार राति नै भएको खेलमा कोल्न र माइन्जले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् ।