सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश र जनतालाई मुक्त गराउने जिम्मेवारी नेकपा एमालेकै काँधमा रहेको निष्कर्ष निकाल्दै पार्टीलाई जिताउन सबै कार्यकर्ता, शुभेच्छुक र नागरिक एकढिक्का भएर लाग्नुपर्ने आह्वान गरेको छ ।
बैठकमा सहभागी वक्ताहरूले मुलुक अस्थिरता, बेरोजगारी, मूल्यवृद्धि र विकासको सुस्त गतिले थलिएको अवस्थामा पुगेको उल्लेख गर्दै शान्ति, अमनचयन र समृद्धिको ठोस आधार निर्माण गर्न सक्ने राजनीतिक शक्ति नेकपा एमाले मात्र भएको दाबी गरे । “देश ध्वस्तताको सम्मुखमा उभिएको छ, यस्तो बेला भावनात्मक नाराभन्दा व्यवहारिक समाधान आवश्यक छ,” एक वक्ताले भने, “र त्यो समाधान एमालेको नीति, नेतृत्व र संगठनले मात्र दिन सक्छ ।”
बैठकले विशेषगरी कमलामाई नगरभित्र देखिएका दीर्घकालीन र तत्कालीन समस्याहरूलाई प्राथमिकताका साथ उठाएको छ । भौतिक पूर्वाधारको कमजोर अवस्था, खानेपानीको दीर्घ संकट, पर्यटकीय सम्भावनाको उपयोग नहुनु, कृषि उत्पादन र त्यसको बजारिकरणको अभाव तथा रोजगारीका अवसर सिर्जना नहुनुजस्ता मुद्दा नगरको विकासमा बाधक बनेको निष्कर्ष निकालिएको छ । यी सबै समस्या समाधानका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ ।
भौतिक पूर्वाधारतर्फ नगरका भित्री सडक, पुलपुलेसा, सार्वजनिक भवन र सेवा केन्द्रहरू व्यवस्थित र दिगो हुन नसकेको भन्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखियो । खानेपानीको सवालमा दीर्घकालीन समाधान खोज्न स्रोत पहिचान, संरक्षण र वितरण प्रणाली सुधार गर्नुपर्ने सुझाव दिइयो। “खानेपानी नागरिकको आधारभूत अधिकार हो, यसमा कुनै राजनीति हुनु हुँदैन,” बैठकमा उठेको साझा आवाज थियो ।
पर्यटन विकासलाई कमलामाईको आर्थिक उकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार र निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको उल्लेख गरियो । त्यस्तै, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने, किसानलाई प्रविधि र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा उत्पादित वस्तुको सुनिश्चित बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिइयो। रोजगारी सिर्जनाका लागि सीपमूलक तालिम, साना तथा मझौला उद्योग प्रवद्र्धन र युवालाई स्वदेशमै अवसर दिने नीति अवलम्बन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
बैठकमा सिन्धुली क्षेत्र नं. २ का एमाले उम्मेदवार मनोज जंग थापाले देश र कमलामाई नगरको अवस्थाबारे स्पष्ट धारणा राख्दै भावी कार्यदिशा प्रस्तुत गरे । उनले वर्तमान पुस्ता मात्र होइन, भोलि आउने सन्ततिको उज्ज्वल भविष्य सुरक्षित गर्न आज सही राजनीतिक निर्णय आवश्यक रहेको बताए । “राजनीति पद र प्रतिष्ठाका लागि होइन, पुस्तौँपुस्ताको भविष्य सुनिश्चित गर्ने माध्यम हुनुपर्छ,” थापाले भने, “कमलामाईलाई विकास, रोजगारी र अवसरको नगर बनाउने हाम्रो संकल्प छ ।”
उनले विगतमा भएका कमी कमजोरी स्वीकार्दै अब परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनताले सुन्न चाहेको कुरा होइन, देख्न चाहेको काम हामी गरेर देखाउँछौँ,” उनको भनाइ थियो । थापाले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गर्दै नगरवासीको जीवनस्तर उकास्न एमाले नेतृत्व सक्षम रहेको दाबी गरे ।
बैठकले अन्त्यमा वर्तमान चुनौतीपूर्ण समयलाई अवसरमा बदल्न पार्टीभित्र एकता, अनुशासन र जनसम्पर्क सुदृढ गर्नुपर्ने निष्कर्ष निकाल्यो । “आज एमाले जित्नु भनेको केवल एउटा पार्टीको जित होइन, यो वर्तमान र भोलि आउने सन्ततिको उज्ज्वल भविष्यका लागि लिइने सामूहिक निर्णय हो,” बैठकको निष्कर्षमा भनिएको छ । यही विश्वासका साथ कमलामाई नगर कमिटीले जनताको घरदैलोमा पुगेर विकास र स्थायित्वको सन्देश लिएर जाने निर्णय गरेको छ ।










