प्रचण्डले सिन्धुली–२ मा राजन दाहाललाई उम्मेदवार बनाएपछि पार्टीमा विद्रोह, उम्मेदवार सच्याउन माग

सिन्धुली:  जिल्ला पार्टीको निर्णय विपरीत पार्टी केन्द्रले सिन्धुली क्षेत्र नम्बर २ मा लेखनाथ दाहाल ‘राजन’लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा असन्तुष्टि चर्किएको छ ।

पार्टी जिल्ला कमिटीले सिफारिस नै नगरेका व्यक्तिलाई केन्द्रले उम्मेदवार बनाएर पठाएको भन्दै जिल्ला पार्टीले आपत्ति जनाएको छ । पार्टी केन्द्रले सिन्धुली–१ मा डेकेन्द्र सुवेदी र सिन्धुली–२ मा लेखनाथ दाहाल ‘राजन’लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार तोकेर पठाएको हो ।

जिल्ला पार्टी कमिटीले उक्त निर्णय सच्याउन माग गर्दै पार्टी केन्द्रलाई पत्राचार गरेको छ । जिल्लामा उम्मेदवार सिफारिसका लागि गठन गरिएको कार्यदलको निर्णय विपरीत उम्मेदवारको नाम आएको भन्दै कार्यदलले केन्द्रको निर्णय पुनरावलोकन गर्न आग्रह गरेको जनाइएको छ ।

सो पत्रमा कार्यदलका सदस्य बुद्धिमान माझी, पानीराज बम्जन, विनोद विक, सूर्य पाख्रिन, चित्र लुङ्गेली, भरत योञ्जन, चित्र पुलामी, सुरदबहादुर स्याङतान र मोदनाथ तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।

लेखनाथ दाहाल ‘राजन’ नेकपाका संयोजक पुष्पकमल दाहालका विश्वासपात्रका रूपमा चिनिनुहुन्छ । जिल्ला पार्टीले उहाँको नाम सिफारिस नगरेको भए पनि संयोजक दाहालले टिकट दिएर पठाउनुभएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको हो ।

पार्टीको केन्द्रीय समितिलाई बोदार्थ र प्रदेश इन्चार्ज तथा संयोजकलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्रमा भनिएको छर्, स्थानीय पार्टी कमिटीहरुको सुझाब संकलन गरि सिन्धुली क्षेत्र १ र २ को प्रत्यक्ष तर्फको र समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली सिफारिस गरि पठाएकोमा सिफारिस विपरित सिन्धुली क्षेत्र नं.२ मा प्रत्यक्ष उम्मेदवारको टिकट बितरण गरिएको सुचना आएको हुँदा हामी कार्यदलका सदस्यहरु सो निर्णयको गम्भीर असहमति प्रकट गर्दछौं । साथै सो निर्णय तत्काल सच्याउन जोडदार माग गर्दछौं ।’
उक्त पत्रमा नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीका नेताहरु बुद्धिमान माझी, पानीराज बम्जन, बिनोद बिक, सुर्य पाख्रीन, चित्र लुगेली, सुरत बहादुर स्यागतान र मोदनाथ तिमल्सीनाले हस्ताक्षर गरेका छन ।
कार्यदलले सिन्धुली २ नं. निर्वाचन क्षेत्रबाट हरिबोल गजुरेल, महेश्वर दाहाल सहितको नाम सिफारिस गरेको थियो । ति मध्ये महेश्वर दाहालले चुनाबी मैदानमा उत्रने आकाक्षा ब्यक्त गरेको भएपनि उनलाई टिकट नदिएर कार्यदलको सिफारिस नै नपरेका लेखनाथ दाहाललाई प्रचण्डले टिकट दिने निर्णय गरेका थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । जिल्लास्तरको असन्तुष्टि र केन्द्र–जिल्ला बिचको मतभेदले सिन्धुलीमा नेकपाको चुनावी रणनीतिमा प्रभाव पार्ने आँकलन गरिएको छ ।