सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।
तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, शान्तिमान कार्की, जिल्ला सचिव नवराज थिङ, पुष्पराज श्रेष्ठ, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ र धनजंग थापाका बीच सहमति हुन नसक्दा सबै नामहरु क्षेत्रीय कमिटीको चौथो पूर्ण बैठकले केन्द्रमा शिफारिश गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय कमिटीको बैठकमा नेताहरु आफैं बसेर आफ्नो नाम लेखाएका थिए । क्षेत्रीय कमिटिको बैठकमा नेता थापा भने उपस्थित थिएनन् । अघिल्लो संसदीय निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीच गठबन्धन भएका बेला कोही पनि चुनाव लड्न तयार नभएका बेला थापा एमालेको तर्फबाट चुनाबी मैदानमा होमिएका थिए । माओवादी सांसद लेखनाथ दाहलसँग थोरै मतले पराजित भएका थापा यस क्षेत्रमा एमालेको बलियो र निश्कलंक उमेदवारका रुपमा चिनिन्छन् ।
यसैबीच १ नम्बर क्षेत्रको बैठक भने भोली आइतवार पुष्पलाल स्मृति भवन चकमकेमा बस्दैछ । सो क्षेत्रबाट एमालेका पूर्व केन्द्रीय सदस्य, हालका केन्द्रीय सदस्य एवम् प्रदेश कमिटी सदस्यसहित आधा दर्जन बढी नेताहरुको नाम आउने बताइन्छ । २ नम्बर क्षेत्रमा १ जना नेताको नाममा सहमति नबन्दा १ नम्बर क्षेत्रमा पनि सोही अबस्था आउने आँकलन गरिएको छ ।











