नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले नेपालीहरुको मौलिक परम्पराका चाडपर्वहरु वडा दशैं तिहार तथा छठ पर्वलाई आफ्नो गक्ष अनुसार मनाउन अपील गर्नुभएको छ । महानवीको दिन उहाँले दशै लगायत सबै चाडपर्वलाई देखासेखी त्यागेर भाइचारा सम्बन्ध बलियो बनाउँदै आफ्नो गक्ष अनुसार मनाउन अपील गर्नुभएको हो ।
प्रचार तथा प्रकाशन विभाग प्रमुखसमेत रहेका नेता घिसिङले अहिलेको संकटपूर्ण राजनैतिक अबस्थामा दशैं पर्वलाई आपसी एकता, मेलमिलाप र भातृत्वपूर्ण सहकार्यका रुपमा बुझ्दै र व्यवहारमा लागुगर्दै अगाडि बढ्न सिन्धुलीवासीलाई सुझाउनु भएको छ ।
अहिले मूलुक यो अबस्थामा आउनुमा पार्टी नेतृत्वका हैसियतले आफ्नो पनि कमजोरी भएको स्वीकार्दै आफ्नो भागमा आइपर्ने गलत र कमजोरीको जिम्मेवारी लिने पनि बताए । उनले पार्टी र नेतृत्वलाई सही ढंगले परिचलान र सुझाव दिएपनि त्यसलाई बेलैमा नेतृत्वले ग्रहण नगर्दा अहिले मूलुकमा यो समस्या आइपरेको र सिन्धुलीको अबस्था पनि त्यो भन्दा भिन्न नरहेको उल्लेख गरे ।
आज बुधवार बिहान लामो कुराकानीगर्दै नेता घिसिङले भनेका छन्: हाम्रा सामु एकातिर पीडाहरू छन्, हतासा छ, निराशाहरू छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरु पनि छन् । सबैभन्दा बढी प्रश्नहरु छन् । तपाईहरुले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमिहरुले जिल्लाको विध्वंशको जिम्मा लिन्छौ ? हिंड्ने बाटो कुन हो ?’ बदलिन्छौं की उस्तै बस्छौं ?
मैले सामाजिक सञ्जाल हेरीरहेको छु, सञ्चार माध्यमहरु पढिरहेको छु । तपाईंहरुले हामीलाई सोधिरहनु भएको छ, ‘तिमिहरुसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरुप्रति माफी माग्दैनौं ? तर अहिले पनि सब ठिकठाक छैन । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आबश्यकता र इमान्दार कार्यकर्ताहरुको अपेक्षाहरु पुरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौं ।’
यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरु पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरुले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संबिधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरुनंै यसको समाधान हुन् ।
नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संबिधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो कर्तव्य हो । केही परिमार्जन आबश्यक रहेछ भने पनि संबिधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट एमालेमा रुपान्तरण सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांस बुद्धीजीवि, नेता तथा कार्यकर्ता, शुभेच्छकहरुको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन । मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्याउँछ । अवस्था अभूतपूर्व रुपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौं । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’
ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको वेवस्ता र अपमान कदापी गर्नु हुँदैन । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरुको सम्मान सहित पुनर्गठन ।’
फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईहरुलाई भन्न चहान्छु, ‘यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरुको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिन र मार्क्सका शालिकहरु ढालिए । सिन्धुलीमैं पुष्पलाल र बिपीका शालिक तोडफोड र आगजनीको दृश्य हेरौं त ? इतिहास तपाई हामीले पढेका छौं । हाम्रो नेताहरुको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रुपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरुमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्बथा गलत हुनेछ । अन्तत : यस्ता गलत व्याख्या गर्नेहरूनैं हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् भन्ने तथ्यलाई बुझ्न जरूरी छ ।










