वास्तबमा नेपालमा २०६२/२०६३ को आन्दोलन पछि हालीमुहाली चलाएका ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यति छिट्टै यो अवस्था आउला, भन्ने सोचेका पनि थिएनन् ।
दलहरूको शिर्ष नेतृत्व बर्गको दिमागमा जनता हामीसँग रिसाएर केही गर्लान् वा हाम्रो विरुद्धमा जान्छन् भन्ने सोच नैं थिएन । उनीहरूको मन मस्तिष्कमा सत्ता जोगाउने वा त्यसबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ भन्ने ध्याउन्न मात्रै थियो ।
विकसित हुँदै गएको दक्षिण एशियाको भू–राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले रणनैतिक स्वार्थ र तीन ठूल दलहरु एमाले, कांग्रेस र माओवादीलाई कसरी तह लगाउने र शासन सत्तामा आफ्नो बलियो प्रभाव कायम राख्ने भनेर योजना बनाई रहेकै थिए ।
तिब्र ध्रुबिकरण तर्फ अगाडि बढिरहेको दक्षिण एशियाको भू–राजनीति, जर्वजस्त थियो भने आन्तरिक रुपमा नेपालका राजनैतिक दलहरु कमजोर बनिरहेका थिए । सत्तारुढ दल नेकपा एमालेमा बढेको चरम गुटबन्दी, जनबर्गीय संगठनरु युवा, विद्यार्थी र अन्य पेशागत संगठनको अधिवेशनमा गरिएको हस्तक्षेप र निषेध गरिएका बिबरणहरुले पार्टी भित्र जनवादको प्रयोग वारेमा आम जनमानसमा खिल्ली उडाइरहेको थियो ।
सक्षम र अब्बल भन्दा पनि आफ्नो खल्तीको नेतृत्व चाहिने मनोदशाबाट अगाडि बढेको नेतृत्व वर्गले कहिल्यै पनि स्वस्थ प्रतिस्पर्धालाई स्वीकार्नै सकेन । विद्यार्थी संगठन विद्यार्थीमा बिस्थापित हुँदै थियो भने युवा संगठनहरु आम नवयुवाबाट टाढा पुगिसकेको थियो ।
विचार र सिद्धान्तको गजगमा उभिने संगठनहरु विचार शुन्यताको अबस्थाबाट अगाडि बढाउन थालेपछि उनीहरु क्रमशः भुत्ते बन्दै भएको यथार्थलाई स्वीकार्नु पर्छ ।
आफ्ना निकटका लाई कमिटीमा राख्ने र परिभाषित जिम्मेवारी अनुसारको काम नभएपछि ‘विद्यार्थी र युवा विदेश गई सके’ भन्दै नेतृत्वको जनसंगठनको अहिलेको अबस्थाले देशी विदेशीको हस्तक्षेपलाई पार्टीका कार्यकर्ताहरुले प्रतिकार गर्न असमर्थ भएका हुन् । अबसरकारका लागि जस्तोसुकै हथकण्डा अपनाउन तयार हुने हाम्रा युवा संगठन श्रद्धेय पार्टी अध्यक्षले निर्देशन दिंदा समेत सडकमा आउन नक्सनु दुखद हो । यस्तो अबस्था किन आयो ? माओवादी आतंकका बिरुद्ध लडेको युवा संघ अहिले एकाएक किन भुत्तेभयो ? उनीहरुको पाइन किन हरायो ? यसको उत्तर खोज्न आवश्यक छ ।
एमालेको जनसंगठनको अधिवेशन भएकामा (एकाध वाहेक) नेताहरूले ‘यश म्यान’ उत्पादन गर्ने कारखाना बन्नु र नेतृत्वमा पुर्याएर सिंगो पार्टी र संगठन निर्माणमा भन्दा पनि व्यक्तिगत सवार्थमा प्रयोग गराउँदा त्यस्ता संगठन लौरो न हतियार भनेजस्तै बनेको हो ।
पछिल्लो समय त जनसंगठन मात्रै होइन पार्टीका तल्ला कमिटीसम्म छानी छानी आफ्ना यश म्यानले भरिएका छन् । बिधी पद्धति र लेनिनवादी संगठनात्मक सिद्धान्त उनीहरुका लागि केही होइन । केही सिमित मान्छे, जसलाई पार्टी कमिटीगत प्रणाली स्थापित गराउन होइन, कब्जा जमाउन र अरुलाई दोस्रो दर्जाको वा सौतेनी व्यबहार गर्ने, माथिल्लो कमिटीको नेतृत्वलाई खुशी बनाउन जिल्ला नेतृत्व तहबाटै संस्थागत गुटलाई प्रश्रय दिने कार्य लगातार भइनैं रहेकै थियो, जसले अहिले मूलुका संकट ल्याउन भूमिका खेलेको छ ।
पार्टी र संगठनमा वा जनतामा जो नेता स्थापित छन्, जो हक्की स्वभावका छन्, जो इमान्दार छन्, जनताले विश्वास गरेका कलंक रहित छन्, तिनलाई पाखा लगाउने काम एमालेमा बलियो बनिरह्यो ।
जनताले नचिनेका काण्डै काण्डले भरिएका, जनताबाट अनुमोदन हुन मुस्किल भएकाहरुलाई संरक्षण गर्ने, ‘पार्टी बिग्रेनि बिग्रियोस् तर आफ्नै कब्जामा राख्नु पर्छ’ भन्ने मानसिकताले यतिबेला नेकपा एमाले ग्रस्त बनेको अबस्था थियो । पार्टीहरुको आन्तरिक लोकतन्त्र कमजोर भएको विरोधी र देशीविदेशी प्रतिक्रियाबादिहरुले बुझिरहेको अवस्थामा वा ठाउँ खोजी रहेका स्वदेशी तथा विदेशी दलालले सामाजिक सञ्जाल बन्दको निहुँमा भारतको प्रत्यक्ष निर्देशन एवम् सहयोगमा आन्दोलनलाई यो अबस्थामा पुर्याउन सफल भए ।
रहर लाग्दा, आशा लाग्दा युवा र विद्यार्थीहरु सडकमा निस्कँदा एमालेका तिनैको प्रतिनिधीत्व गर्ने जनबर्गीय संगठनहरु कहाँ थिए ? तिनका नेताहरु किन एकाएक राजिनामा दिन आतुर देखिए ? जनतामा जान सक्ने आँट नभएकाहरु पार्टी कार्यालयमा बसोस्, अरुको कुरा काटोस्, माथिल्लो स्तरका नेतालाई भएको नभएको कुरा लाओस् अनि फोटो खिचोस्, फेसबुक रंगाओस्, त्यसपछि यत्तिले संगठन हुन्छ ?
परेको बेलामा बीस–पचास जना जनता निकाल्न नसक्ने, वडा घुम्न नसक्ने, डरले जंगलमा गएर बस्ने, अरुको घरमा सुत्न जाने ? सत्रुसँग लड्न नसक्ने तर आफ्नै विरुद्ध भने निरन्तर आक्रमण र अंगभंगको धम्कि दिने नेता वरिपरि घुमेर नेता बन्नेलाई अपराध कर्ममा प्रश्रय दिंदाको परिणाम हो । कहिले जनताको कुरा सुन्ने फुर्सद भएका भए अहिलेनैं यो अबस्था आउने थिएन होला ? लाग्छ, अहिले पनि नेताहरुलाई आफ्नै कुरा सुनाउँदै फुर्सद छैन, कार्यकर्ताहरुको त कहिले सुनाउनु ? ।
‘जनस्तरमा यति काम गरें’ भनेर सुनाउने आधार खडा गर्ने भन्दा ‘फलानोले यसो गर्यो, ढिस्कानाले उसो गर्यो, यसले गर्दा काम गर्न सकिएन, उसले काम गर्न दिएन’, ‘त्यो पार्टी गतिविधि भन्दा बाहिर गयो’ भनेर कुरैटोहरुको कुरा सुनेर जनप्रीय कार्यकर्ताहरुलाई पार्टीबाट विस्थापित गराउन लाग्नेहरुको कुरा सुनेर धारणा बनाउने नेताहरु भएपछि ईमानदार र जनप्रीयहरु बिस्थापित हुन्छन्, परिणाम यस्तै आउँछ ।
नेताहरुले मन परेकाहरुलाई मात्रै भेट दिने, गुटको वा तर्क बितर्क नगरी हस भनेर जे पनि मान्ने कार्यकर्ता आयो भनी भेट दिने, ‘आफ्नो एस्मेन होइन गुटको होइन भनेर कुरा लाइदियो भने उसैका कुरा पत्याएर पार्टी कै कार्यकर्ता हो भेटम न त उसको पनि कुरा सुनम , म त सबै कार्यकर्ता नै नेता हुँ त भन्ने कहिल्यै नलाग्ने, भेट समेत नदिने अवस्था भएको थियो ।
यसको परिणाम आज भोग्नु परेको छ-पार्टीको झोला बोके बापत कैयौं कार्यकर्ताको घर तोडफोड, आगजनी भएको छ । आज नेतादेखि कार्यकर्ता सम्मको दयनीय अवस्था आएको छ ।
यो अवस्थामा अब पनि गम्भीर भएर समीक्षा नगर्ने, ‘आफ्नो समूहले गरेको राम्रो अर्को समूहले गरेको नराम्रो’ भन्ने छुट्याएरै व्यबहार गर्ने हो भने अवस्था झन जटिल हुन सक्छ । त्यस कारण मूलुक र पार्टीमा यो अवस्था कसरी आयो, कहाँ कमजोरी रह्यो, यसको सही मूल्यांकन गरी, कहाँ कुन–कुन ठाउँको नेतृत्व परिवर्तन गर्नु पर्छ मूल्यांकन गरेर जान जरुरी छ ।
किनकि फागुनमा निर्वाचन हुँदै छ । तर केही एमाले नेता र उनका आसेपासे कार्यकर्ता यस्ता देखिँदै छन् कि ‘पार्टी जे सुकै होस् तर पार्टी कब्जा गर्न पाए हुन्छ’ भन्ने ध्याउन्नमा छन् ।
यस्तो मानसिक चिन्तन भएका नेतृत्वले आगामी चुनाव हाँक्न सक्छन् ? गुटले चुनाव जितिंदैन, बरु पराजय गराउने छ । लाग्छ केही कोही त जीवनमा वडा सदस्य समेत जित्न नसक्नेहरूको चुरी फुरी देख्दा जनता पनि छक्क परेका छन् । यस्तालाई पार्टीले बोकेर कहाँ पुगिन्छ ?
हो, अब यी र यस्ता गलत प्रवृत्तिलाई हटाएर लोकप्रिय नेतृत्व निर्माण गरेर सबै खाले समुदाय, पुस्तालाई समेटेर लैजान सक्ने नेतृत्व आजको आवश्यकता हो । अन्यथा आगामी निर्वाचनमा पराजय भोग्नु पर्छ । अहिलेको अवस्थामा जेनजीको जायज मागलाई समेत ध्यान दिन जरुरी छ ।
नेकपा एमालेले बोकेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ठिक छ तर त्यसको कार्यान्वयनमा कमजोरी भएको छ । नेकपा एमालेको सम्पन्न विधान अधिवेशनमा प्रस्तुत भएको राजनैतिक दस्तावेजले जवजलाई बिस्थापन गर्नेगरी कमजोरी गर्ने नेतृत्वको बारेमा अहिले देखीनैं किन समीक्षा नगर्ने ?
यही तरिकाले जाने हो भने गुटमा लागेकाले टिकट त पाउलान् तर जनताले निर्वाचनमा परिणाम त देखाई दिन्छन् । आफ्नो टोललेसमेत नचिनेका, जनताले नपत्याएका लाई गुटले बोकेर पार्टीको कमिटीमा राख्दैमा जनताले मान्छन् ? पार्टी जनताको हुनु पर्छ, गुटको होइन । गुट चलाउनेले जीवनमा जनताबाट अनुमोदन हुन सक्दैन ।
फाल्गुणको निर्वाचनलाई मध्यनजर गरेर हरेक कमिटीलाई नयाँ चिराबाट अगाडि बढाउन जरुरी छ । अन्यथा निर्वाचनको परिणाम राम्रो नआउन सक्छ । अनि अरुलाई दोष देखाएर वच्न पाइँदैन । बेला बितिसकेपछी ए , अनि ‘ह्याँ’ गरेर दाँत देखाएर हुँदैन। बेलैमा नेतृत्वले सोच्न जरुरी छ । – यो आलेख सन्देश जनप्रियले प्रकाशन गरेको छ ।










