सरकारद्धारा प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय मुक्ति आन्दोलनद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा मुक्त गर्ने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै लिपुलेक सडक काण्डबाट मोदी सरकार अविलम्ब राजनीतिक रुपले पछि हट्नु पर्ने अन्यथा सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एकजुट भएर राष्ट्रिय मुक्ति आन्दोलनद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा मुक्त गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले पार्टीले राष्ट्रिय मुक्ति आन्दोलनको दृढता र कुशालतापूर्वक नेतृत्व गर्ने समेत बताएका छन् ।
प्रकाण्डले नेपाली राष्ट्रियतामाथि कालापानी, लिपुलेक, लिम्पियाधुरामा धावा बोल्ने भारतीय साम्राज्यवादी मोदी सरकारको प्रत्याक्रमणमा कथित कुटनीतिक नोट र कूटनीतिक हतियार प्रयोग गर्ने ओली सरकार र कूटनीतिक पहल एवं समाधानको संसद्वादी दलहरुको सरकारलाई सल्लाह मोदी सरकारको मिसाइल अक्रमणको विरुद्ध ‘भुगे बन्दुकको प्रतिरोध’ बाहेक अर्को हुनेवाला छैन भन्दै अन्ततः कालापानी सडक मुद्दा लिम्पियाधुरा नक्सा प्रकरणमा बदल्ने सरकारी र बदलाउने संसद्वादी षड्यन्त्रबाहेक अर्को नहुने ठोकुवा गरेका छन ।










