विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा संक्रमण पुष्टि भएसँगै त्यहाँ क्लस्टर बन्ने सक्ने चिन्ता थपिएको छ ।

कक्स बजारको शिविरमा म्यानमारमा आफूहरुमाथि भएको हिंसाबाट जोगिनका लागि भागेर आएका झण्डै १० लाख रोहिंग्याहरु बस्दै आएका छन् ।
बुद्धिस्ट बाहुल्य म्यानमारमा अल्पसंख्यक रोहिंग्या मुसलमानमाथि हिंसा हुन थालेपछि उनीहरु बंगलादेश सहितमा आश्रय लिन आइपुगेका हुन् ।
संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको सरकारी डाक्टरले बताएको बिबिसीले उल्लेख गरेको छ ।
कक्सको शिविरमा रहेको झण्डै १९ सय शरणार्थीहरुलाई पनि आइसोलेशनमा राखिएको छ । उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुने भएको हो ।

कक्स बजारको शिविरमा रहेका रोहिंग्याहरु गएको मार्च १४ देखि नै लकडाउनमा छन् ।
कोरोना भाइरसको महामारी शरणार्थीहरुमा अति नै विकराल बन्न सक्ने भन्दै चिन्ता जताइएको छ ।
ग्रिसमा पनि ठूलो संख्यामा शरणार्थी छन् । ग्रिसले संक्रमणको जोखिममा रहेको झण्डै १६ सय शरणार्थीलाई अरु देशमा पुनर्स्थापित गर्ने तयारी थालेको छ । ग्रिसको लेस्बोस आइल्याण्डमा यो हप्ता पुगेका शरणार्थी मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
ग्रिसमा भन्दा भयावह अवस्था बंगलादेशको कक्स बजारमा छ । त्यहाँका साँघुरा टहरामा स्वच्छ पानीको पहुँच बिना बस्दै आएका रोहिंग्याहरुमा महामारी सुरु भएमा तीव्र गतिमा फैलिन सक्ने भन्दै विगत लामो समयदेखि चिन्ता व्यक्त गरिएको थियो ।
बंगलादेशमा सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले भनेका छन्, ‘अब विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश औपचारिक रुपमा भएको पुष्टि भएको छ । यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिम रहेको देखिएको छ ।’
यो महामारीले बंगलादेशलाई दशकौँ पछाडि धकेल्न सक्ने उनले चेतावनी दिएका छन् ।
कक्स बजारको शिविरमा प्रति एक वर्गकिलोमिटरमा ४० हजार देखि ७० हजार शरणार्थी बस्न बाध्य छन् । यहाँ संक्रमण फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नु सम्भव छैन ।











