सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको छ ।
कमलामाई नगरकमिटीको अध्यक्ष शेरवहादुर कार्कीलाईनैं अध्यक्षसहितको पदाधिकारी बनाउँदै एकपक्षीय रुपमा माईशिरमा नगरअधिवेशन सम्पन्न भएको फोटोहरु सार्वजनिक गरिएको थियो । दुधौली नगरकमिटीको अधिवेशनभने माओवादी अध्यक्ष प्रचण्डले तामझामसहित प्रमुख अतिथीका रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटनको लामो समयसम्म पनि निर्वाचन प्रक्रिया अबलम्मन गर्न खोज्ने पार्टी संस्थापन पक्ष र निर्वाचन गराउनै नचाहने इतर पक्ष बीच सहमति हुन नसक्दा इतर पक्षले एक पक्षीय रुपमा अध्यक्षलगायत पदाधिकारी घोषणा गरेको थियो ।
दुबै पालिकामा इतर पक्षले कब्जा जमाएको भनिएको नगरपालिका कमिटीले आफ्नो राजनैतिक गतिविधी अगाडि बढाएपछि त्यस बिरुद्ध पार्टी केन्द्र र बागमती प्रदेश कमिटीमा लिखित उजुरी परेको थियो । सो उजुरीपछि अध्यक्ष प्रचण्डले सिन्धुलीको संस्थापन र इतर पक्षका नेताहरुलाई राखेर छलफल गरेपछि सिन्धुलीको बिवाद समाधान गर्न केन्द्रीय नेता शालिकराम जम्कट्टेललाई जिम्मा लगाएका थिए । उनले पनि सो बिवाद मिलाउन नसकेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य मिना शर्मा र बागमती प्रदेश अनुशासन समितिका प्रमुख संलग्न २ सदस्यीय छानवीन समिति गठन गरेको थियो ।
बिवादास्पद कमिटीले १८ औं गणतन्त्र दिवशका दिन जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई असफल बनाउनेगरी सिन्धुलीको लोकतान्त्रिक चोक (पार्किङ स्थलमा) अर्को कार्यक्रमको आयोजना गरेपछि प्रतिवेदन कार्यान्वयन गराउन प्रचण्डमाथि दबाब बढेको थियो । पार्टी कार्यालयको कार्यक्रममा प्रमुख अतिथी पार्टी केन्द्रका सचिव गंगा नरायण श्रेष्ठ हुनुहुन्थ्यो भने अर्को कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य एवम् गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकार हुनुहुन्थ्यो । शर्माको नेतृत्वमा आएको टोलीले २ दिन सिन्धुलीमा बसेर तथ्य बुझ्दै पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएपछि कमलामाई र दुधौली नगरकमिटी कमिटी खारेज गरिदिएको हो ।
शर्मा नेतृत्वको प्रतिवेदन कार्यान्वयनमा नआएका बेला समाजवादी नेता गंगानारायण श्रेष्ठसहितको समूह नेकपा माओवादीमा समाहित भएपछि सो प्रतिवेदनको सुझाव कार्यान्वयनमा आएको देखिएको छ । माओवादी बागमतीको सो परिपत्रसँगै दुधौलीमा नयाँ कमिटी चयन हुनेछ भने कमलामाई नगर कमिटीको एक महिनाभित्र विधिवत रुपमा अधिवेशन सम्पन्न गर्न भनिएको छ । -पवन राउत, सन्देश जनप्रिय साप्ताहिकबाट