जोखिम क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सिन्धुली प्रशासनको उर्दी

सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटै स्थानीय तहलाई संभावित जोखिमका लागि राहत प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ ।

जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई पालिकामा पठाउँदै जिल्ला प्रशासनले राहत तथा प्रतिकार्यको तयारी गर्न र जोखिमपूर्ण स्थानमा रहेका नागरिकहरुलाई सो क्षेत्रबाट तत्कालै हटाउन सिन्धुलीका ९ वटै पालिकालाई पत्र पठाएको हो । प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले हस्तक्षर गरिएको पत्रमा सिन्धुलीका पालिकाहरुलाई ७ बुँदामा निर्देशन दिइएको हो ।

जोखिम पूर्ण मानिएको राजमार्ग र भित्री सडकहरुलाई तत्कालै सुचारु गर्नका लागि आवश्यक इन्धन, डोडर र चालक लगायतका आवश्यक सामाग्रीहरु तयारी अबस्थामा राख्न भनिएको छ । त्यसैगरी पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, भौतिक पूर्वाधार र कृषि शाखा प्रमुख संलग्न रहनेगरी ह्वाट्एप ग्रुप सञ्चालनमा ल्याउन प्रजिअ शर्माले निर्देशन दिनुभएको हो ।

सन्देश जनप्रियसँग कुराकानी गर्दै प्रजिअ शर्माले जोखिम भएको क्षेत्रमा कम्तीमा २० मिनेट भित्र सुरक्षाकर्मी र उद्धारटोली पुग्न सक्नेगरी आवश्यक तयारी गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो–त्यसका लागि जिल्लाका सबै सुरक्षा निकायसँग छलफल गरेर संयुक्त रुपमा टिम निर्माण गर्ने टुंगो लागिसकेको छ । – सन्देश जनप्रियले यो समाचार प्रमुखताका साथ प्रकाशन गरेको छ ।