आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि आलोचना हुँदै आएको छ ।
जसका पनि कुरा सुन्दा अत्यन्त राम्रा लाग्छन् तर व्यवहारमा एउटा पनि लागु गरेको पाइएन । सबै सरकारमा गए तर प्रतिपक्षमा बस्दा एउटा कुरा सत्ता पक्षमा बस्दा अर्को कुरा गरेको देखेर जनता निरास भएका छन्, जुन अहिले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालको अभिव्यक्तिले प्रष्ट पारिरहेको छ । सत्ता र शक्तिको उन्माद अनि पदको दुरुपयोगको अबस्था ।
हाम्रो समाजमा समाजसेवी कहलिएकाहरु धेरै छन् । उनीहरु आफूलाई समाजसेवी ठान्छन् । उनीहरुसँग समाजको कुरै छैन । आफ्ना नातागोतातिर लागेका छन् । समाजको भलो हुने र समाजको उत्थान हुने खालका कामकाजमा ध्यानै छैन । आफू र आफ्नो परिवार, अनि नजिकका आसेपासे अग्र पक्तिमा पर्दछन् । आफूले राम्रो काम गरेर अगाडी बढनुका साट्टा अरूको खुट्टा तानेर अगाडि बढ्न खोज्ने बानीले गर्दा उनीहरुलाई अहिले सहीलाई सही, गलतलाई गलत साबित गर्न कठिन भएको छ ।
आजका पार्टी कार्यकर्ता मात्रै होइन जनता पनि लाटा छैनन् । कमजोर कसैले नसोचे हुन्छ नजिकबाट हेरिरहेका हुन्छन् । पार्टी नेता र समाज सेवी हुँ भन्नेहरूले खाएको र लाएको उसको इमान्दारीता, नैतिकता, आचरण र उसको व्यवहारले देखाइरहेको छ । कसैले देखाउनै पर्दैन, सामान्य नागरिकले नजिकबाट हेरिरहेका छन् ।
त्यही कारणले समाज सेवामा लागेका वा आफूलाई राजनीतिमा होमेकाले गम्भीरता पूर्वक लिन जरुरी छ । आफूले म समाज सेवी भन्नु भन्दा पनि अरुले यो समाज सेवी हो भन्दिए राम्रो हो । आफ्ना आसेपासेले भनेर पुग्ने रहेनछ । समाजको मन जित्न र समाजमा स्थापित हुन सजिलो छैन । हरेक आपद , विपद आइपर्दा उसको भूमिका नजिकबाट नियालिरहेका हुन्छन् ।
विपदमा भूमिका नदेखाउने भन्दा पनि देखाउनेलाई सम्झिरहेका हुन्छन् । उनीहरुको पनि कुनै दिन पालो आउला भनेर कुरिरहेका हुन्छन् । त्यस कारण सहज र सरल रूपमा सकृय रही सही किसिमको निसाव दिन सक्ने निस्पक्ष जनताको आवाज बुलन्द गर्न सक्नेहरु समाज सेवी हुन जरुरी छ । यस्ता खालका समाज सेवीहरुको आवश्यक्ता राजनीतिक पार्टीमा आवद्ध हुँदा नै दलीय व्यवस्था बलियो हुन्छ ।
सिद्धान्त संगठन र संघर्षको पुष्पलालको नीतिलाई सही रूपमा लागु गर्न सक्नु आजको आवश्यक्ता हो । नेपालको राजनीति परिवर्तन भनेको राजनीतिक क्षेत्रको प्रणालीमा मात्र फेरबदल गरियो । प्रणाली परिवर्तन भयो, प्रवृत्ति परिवर्तन भएन । त्यसैले जनताले समाजसेवीहरुको प्रवृत्ति परिवर्तन भएको हेर्न चाहेका छन् । समाजसेवाका नाममा मेवा खाने प्रवृत्तिलाई निस्तेज नपारेसम्म नेपाली जनताप्रतिको विश्वास बढ्ने छैन । (लेखकः कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्) यो लेख बुधवार प्रकाशित सन्देश जनप्रिय अखवारले प्रमुखताका साथ प्रकाशन गरेको हो ।