सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै भर्खरका युवा टंकविक्रम थापा र कर्ण घिसिङ थिए । माओवादी ज्यादती होस् वा चन्दा आतंकनैं किन नहोस् त्यसको सामना गर्ने काम युवा दस्ताका नाममा उनैले गरेका थिए । सिन्धुली सदरमुकाममा माओवादी चन्दा आतंकबाट सुरक्षित राख्न पिपुल्स भोलेन्टियर्स र युथ फोर्स निर्माण एवम् तालिम दिएर गलत क्रियाकलापको भण्डाफोर गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न घिसिङले निर्वाह गरेको भूमिका अझै पनि एमालेजनमा चर्चाको विषय बनिरहन्छ । अहिले समय फेरिएसँगै घिसिङको पनि जिम्मेवारी फेरिएको छ । उनी नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष छन् । आफ्नो पार्टी, नेतृत्व र कार्यकर्तामाथि बिना तथ्य कोही आक्रमण गर्न आउँछ भने त्यस्ता गलत तत्वहरुका बिरुद्ध उनी उभिने गर्छन् । एकाएक चर्चामा आएका एमाले नेता घिसिङसँग समसामयिक विषयमा केन्द्रित रही सन्देश जनप्रियले गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । सम्पादक
सिन्धुलीको समग्र राजनैतिक अबस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?
नेपालको कम्युनिष्ट आन्दोलनको एउटा हिस्साको रुपमा ओगटिएको सिन्धुली जिल्लाको आफ्नै विशिष्ट खालको पहिचान छ । कमरेड आजाद, दलवहादुर रजन मगर, दुर्गा सुवेदी र शेरमान कुँवर जस्ता नेताहरुको रगतबाट सिंचित भएको सिन्धुली जिल्लालाई कम्युनिष्ट उत्पादनको कारखानाका रुपमा पनि लिइन्छ । विगत सिन्धुलीको वामपन्थी राजनीति र त्यो आन्दोलनसँग जोडिएर आएका श्रद्धेय नेताहरुको योगदान हाम्रा लागि निरन्तर प्रेरणाका श्रोत बनिरहेका छन् । यस अर्थमा पनि सिन्धुलीको राजनीति एउटा निष्ठा, आदर्श र सम्मानका साथ अगाडि बढ्नु पर्छ भन्ने आम जनसुमदायको अपेक्षा यति बेला कता कता अलमलिएको, जनअपेक्षालाई बाहुबलीका रुपमा व्यक्तिगत स्वार्थ अनुसार प्रयोग गर्ने केही नेता भनाउँदाहरुको पछिल्लो गतिविधीले जिल्लाको समग्र राजनीतिलाईनैं बिकृत बनाइरहेको छ । हाम्रा रहेक गतिविधी जनता केन्दित हुनुपर्छ तर त्यसो हुन नसक्दा अहिले नागरिकले हामीहरुमाथि नैं प्रश्न गरिरहेका छन् । त्यसैले बाहिर राम्रा कुरा गर्ने तर भित्र भित्रै जनविरोधी काम गर्ने नेताकै कारणले अहिले सिन्धुलीको राजनितिप्रति जनभरोसा टुट्न थालेको छ । नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले जनताका तमाम निराशालाई आशामा बदल्दै अगाडि बढिरहेको छ र सिन्धुलीको विकास र सम्बृद्धिका लागि दिर्घकालिन योजनाहरु प्र्राथमिकताका साथ केन्द्रीय योजनासँग जोडिरहेको छ । अन्य दलको जस्तो नेकपा एमालेका नेता कार्यकर्ता कहीं कतै भ्रष्टाचार र विकास निर्माणको योजना जोडिएर बद्नाम भएका छैनन् ।
केही समय अगाडि सामाजिक संजालमा स्टाटस लेखेर तपाई एकाएक चर्चामा आउनुभयो । नेकपा कालमा भएको तपाईको पार्टी नेतृत्वले विभाजित बनेको अर्को समूका नेतासँग कार्यालयमा बसेको भाडा माग्नु भएको कुरा सार्वजनिक भएपछि तपाईको स्टाटस आएको देखियो, के हो वास्तबिकता ?
सिन्धुलीमा माओवादीको हिंसाको समय होस् वा त्यसपछिका अपराधिक गतिविधीमा हामीले वारम्वार प्रतिरोध गरिरह्यौं । जनयुद्ध होस् वा त्यसपछिका दिनहरुमा माओवादीको नेतृत्वमा रहेका अहिलेका माननीयले हाम्रा नेताहरुको हत्या योजना बनाउने, भौतिक आक्रमण गर्ने र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध विष बमन गरेर आफुले बिगतमा गरेका अपराधका कर्महरु छोप्ने काम गरिरहनुभयो ।
पार्टी एकतापछि बनेको नेकपाकालमा उहाँ हाम्रो जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँले एकल ढंगले पार्टी संचालन गर्दा पनि हामी एकताको भावमा समस्या सिर्जना नहोस्, अधिवेशनपछि पार्टी सही ढंगले अगाडि बढ्छ, विधान अनुसार चल्छ भन्नेमा ढुक्क थियौं । तर जव पार्टीमा हुँदै नभएको सदस्य संख्या बोकेर उहाँ आउनुभयो । उहाँलाई हामीले पटक पटक नाम ठेगानासहितको बिबरण चाहिन्छ भन्यौं, पटक पटक समय बढाइयो तर संख्यामा मात्रै अडान लिने काम भयो । त्यस बेला हामीलाई उहाँ विधिसम्मत ढंगले, सामूहिकतामा होइन, एकल चल्नु हुन्छ भन्यौं, नभन्दै त्यस्तै भयो । पार्टीका जनप्रतिनिधीले बुझाएको लेबी बैंकमा जम्मा नगरी व्यक्तिगत खर्च गर्ने र उल्टै एमाले पार्टीका नेतालाई आफ्नो हनुमान मार्फत बद्नाम गराउने काम गरिरहनु भएको छ । पार्टी एकताका क्रममा ल्याइएको थोत्रे सोफा र एउटा वाटर डिस्पोन्सर पार्टी विभाजनका क्रममा मैंले लिएर जानुस् भनेको थिएँ, लग्नु भएन तर अहिले हुँदै नभएको कुराहरु बोल्दै हिंड्ने, भ्रम छर्ने काम नगर्नुस् मात्रै भनेको थिएँ । आफ्ना कमीकमजोरी छोप्न वा उहाँकै पार्टीले उठाएको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गरेर एमाले र हाम्रो नेतृत्वको आलोचनामा निरन्तर लागिरहेपछि बाध्य भएर सामाजिक संजालमा लेखेको थिएँ । अहिले हाम्रो अध्यक्ष कमरेडले पनि उहाँको गलत क्रियाकलापका बिरुद्ध आफ्नो धारणा सार्वजनिक गरिसक्नु भएको छ । म यसै पत्रिका मार्फत सत्यको जगमा उभिएर बोल्न आग्रह गर्दछु, किनकी अबको राजनीति धाक धम्की र झुटमा होइन, सत्य र निष्ठामा आधारित हुनेछ । त्यसैले आफ्नै पार्टीमा आफुमाथि उठेको आन्तरिक प्रश्नलाई बिधिसम्मत ढंगले हल गर्नुको साटो त्यसलाई ढाकछोप गर्न र आम जनमानसमा सहानूभूति प्राप्त गर्न एमालेले भाडा माग्यो भन्ने जस्ता अराजनैतिक कुरा गर्नुभएको छ, त्यो आपत्तीजनक मात्रै होइन, खेदजनक पनि छ ।
नेकपा एमाले सिन्धुलीको अगुवाईमा ‘सम्बृद्ध सिन्धुलीको खाका’ तयार भइरहेको छ । पार्टीले विगतमा सञ्चालन गरेको मिसन ग्रासरुट र मध्य पहाडी लोकमार्ग अभियानले जनस्तरबाट कस्तो खालका गुनासाहरु नेतृत्वसामु ल्यायो ?
अभियानका क्रममा जनस्तरबाट धेरै गुनासो आएका छन् । उपल्लो चेतनास्तर भएको नेतृत्वमा पनि पार्टीमा विचारको स्पष्टताको अभाव देखियो । हामी समाजवाद स्थापित गर्ने भन्छौं । तर, त्यसको स्वरुप कस्तो हुन्छ, कसरी प्राप्त हुन्छ भन्ने ढंगका कार्यदिशाको स्पष्टताको माग गरेको देखिन्छ । कार्यकर्ताको माग सम्बोधनदेखि आर्थिक रुपमा परिचालन गर्नेसम्मका विषयमा वैचारिक तहमै कुरा उठेको छ ।
कार्यकर्ता पंक्तिमा हामी पार्टीमा यत्रो समयसम्म खट्दा हामीले के पायौं, पार्टीले हामीलाई केही दिनुपर्दथ्यो, हामीले पाएनौं, हामीले जागिर, विकास निर्माण र अवसर पाएनौं तर, हामी सधैं कति खटीमात्रै राख्ने भन्ने एउटा चेतना पनि पाएका छौं ।कतिपयले गाउँघरमा यो पार्टीमा लागिसकेपछि म सुरक्षित हुन्छु कि हुन्न भन्दै सुरक्षाको समेत माग गरेका छन् । न्याय प्रशासनमा जाँदा घुस नखुवाइ मेरो काम बन्छ कि बन्दैन, पार्टी नेताहरुबाट त्यस्ता काममा सहजीकरण हुन्छ कि हुँदैन भन्ने कुरा पनि आएका छन् । त्यही समस्याले होला, पार्टी कार्यकर्ताहरु पनि अभियानमा आए र आफ्ना गाउँमा गर्नु पर्ने विकास निर्माणका योजनाहरु वारे खुलस्त कुरा राखेको देखियो ।
त्यसैगरी पार्टीको नेतृत्वप्रति आलोचना पनि छ । लिडरशिप जनताको बीचमा आएन, विलासी जीवन बिताउन थाल्यो, सत्ता र शक्तिमोह बढ्यो भन्ने आलोचना पनि भएको छ । जिल्ला, स्थानीय नेतृत्व र पार्टीलाई सच्याउन सुझाव दिएका कुरा पनि मैले अनुभव गरेको छु ।
अभियानका क्रममा पार्टीका नेताहरुको कार्यशैलीको विषयमा जनताको बुझाई के पाउनुभयो त ?
यो विषय पार्टीभित्र गम्भीर ढंगले उठेको छ । नेताहरुले हिजो जनताको बीचमा काम गर्दा कस्तो कार्यशैली र व्यवहार अख्तियार गर्थे, आज कस्तो जीवन बाँचेका छन्, लामो समय पार्टी पक्तिमा लागेका कार्यकर्ताहरुको हालत के छ, नेताहरुको हालत के छ र नेताहरु जनताको समस्यामा फर्किएनन् भन्ने खालका कटू आलोचनाहरु पनि छन् । जुन कुरा हामीले पार्टी कमिटीमा पनि वारम्वार उठाएका छौं र तल्लो तहमा भएका पार्टी कमिटीका बैठक र कार्यक्रमहरु गर्दा स्थानीय साथीहरुलाई बोझिलो बनाउने काम बन्द गरौं । हामी विगतका कमी कमजोरीहरु सच्याउने तर्फ क्रियाशिल पनि छौं ।
अहिले पार्टी अध्यक्षकै नेतृत्वमा सरकार छ । सरकारको कामप्रति जनता कतिको सन्तुष्ट पाउनुभयो ?
अहिले पार्टीकै सरकार छ । सरकार निर्माण भएको लामो समय भएको छैन । निराशा चुलिएको अहिलेको अबस्थामा कमरेड केपी ओलीले सरकारको नेतृत्व गर्नासाथ अर्थतन्त्रका केही सुचकहरुमा फेरबदल आएका छन् । सफल अर्थमन्त्री कमरेड विष्णु पौडेलले मूलुकको अर्थतन्त्रको बागडोर सम्हालेपछि सबै क्षेत्र उत्साहित बनिरहेको छ ।
छोटो अवधिमा जनस्तरबाट हेर्दा हामीले सरकारबाट के पायौं भन्ने प्रश्न होइन, मूलुकको नेतृत्व सही व्यक्तिले गरेका छन् भन्ने कुरा तलबाट आइरहेको छ । दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र एमाले मिलेर निर्वाचनसम्म जाने होइन, हामी एक अर्काका प्रतिस्पर्धी हौं, भन्ने कुरा हाम्र मूल नेतृत्व र पार्टी कमिटी प्रष्ट भएकाले पनि यो सत्ता सहकार्य मात्रै हो र आगामी २०८४ को निर्वाचनमा नेकपा एमालेलाई बलियो शक्तिका रुपमा उभ्याउने र उभिने कुरामा कहीं कतै दुबिधा छैन । अहिले जनस्तरमा बढेको उत्साहले आम नागरिकमा सकारात्मक भाव पैदा गराएको छ ।
राष्ट्रको तहबाट गर्नुपर्ने भ्रष्टाचार नियन्त्रणको कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । चौतर्फी भ्रष्टाचार छ, माथिल्लो तहमा सरकारबाट केही नियन्त्रणको प्रयास भए । तर, अहिले त्यो पनि ब्रेक लागेको छ । तल्लो तहमा भ्रष्टाचार नियन्त्रणको संयन्त्र नै पुग्न सकेको छैन । त्यसकारणले जनताले यसबाट मुक्त हुन पाए हुन्थ्यो भन्ने भावना छ ।
जनताका समस्याहरुसँग जोडिने पार्टीलाई तल्लो तहका आधारभूत वर्गमा जोड्ने सन्दर्भमा तपाईको भूमिका कस्तो रहन्छ ?
नेकपा एमालेले विगतमा संचालन गरेको अभियानले जे लक्ष्य लिएको थियो, आज पार्टीले त्यो लक्ष्यलाई लिएर अगाडि बढिरहेको छ । जनताका समस्यासँग एकाकार हुने र त्यसको समाधानका लागि सबै उपायहरु अबलम्बन गर्ने काममा हामी निरन्तर लागिरहेका छौं । हाम्रो राज्यका निकायहरु, जहाँ तल्लो तहका आधारभूत वर्गका नागरिकहरु सेवा लिन जान्छन्, त्यहाँका कर्मचारीले साना तिना कुरामा अल्झाएर राख्ने काम नगरिदिने वा बाहुवलीका भरमा सोझासिदा नागरिकलाई मुद्धामा फसाउने जस्ता समस्याहरु हामीले जिल्लामा थुप्रै देख्यांै । यतिसम्म कि अस्पतालमा विरामी भएर जाँदा पनि सोर्स फोर्सनैं लगाउनु पर्ने अबस्था सिर्जना गरियो । त्यो सबै बेथितीको चरम नमुना हो । यस्ता गलत हरकतहरु रोक्न हामीले वारम्वार नागरिक मैत्री प्रशासन र अस्पताल हुनु पर्छ भनिरहेका छौं ।
पार्टीले संचालन गरेको अभियानमा लभभग ८० प्रतिशत कार्यकर्ताको पंक्ति सामेल भए । केहीले नेतृत्व नै लिएर हिँडेका छन् । केही अभियानमा सामेल भएर मात्रै पनि लागेका छन् । त्यसकारणले अभियानले तल्लो तहका नागरिकमा, पार्टी संगठनमा केही हलचल ल्याएपछि कार्यकर्ता तहबाट पनि व्यापक गुनासा आएका छन् । त्यसले हामीलाई सकारात्मक उर्जा मिलेको छ ।
नेकपा एमालेलाई सधैं सत्ता केन्द्रित भयो भन्ने आरोप पनि लाग्ने गरेको छ नि ? सत्ता बिना बस्नै नसक्ने अबस्था सिर्जना भएको हो ?
त्यो आरोप लाग्नु स्वाभाविक नैं हो । किनभने जनताले आधारभूत आवश्यकता पाएका छैनन् । रोजगारीका समस्या ज्यूँका त्यूँ छन् ! केही घटे होलान् । नयाँ युवाहरु पनि बढ्दैछन् । अहिलेको राजनीतिमा १८ वर्ष पुगेपछि मत हाल्न पाउने अधिकार छ । तर, ती आज १८ वर्ष पुगेको युवाले हिजोको पार्टी र संगठन निर्माणको अनुभूति, जनआन्दोलनको कठिनाइहरु त देखेनन् नि ! नदेखेपछि आजको परिवर्तनलाई अर्के ढंगले बुझ्ने भए । अहिले त्यसलाई राजनीतीकरण नभई व्यापारीकरण गर्न खोज्ने केही नेताहरुको प्रवृतिले यदाकदा समस्या सिर्जना हुने गर्छ । तर जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमालेले सत्तामा नगईकन जनताका न्यूनतम् समस्याहरु समाधान गर्न सकिन्न र पार्टीले अभियानका क्रममा अगाडि सारेका सम्बृद्धिका योजनालाई कार्यान्वय गर्न सकिन्न । त्यही कारणले पनि मूलुकमा बढेको राजनैतिक अस्थिरता, अराजकता, आम नागरिकमा बढेको निराशा र विदेशी षडयन्त्रलाई चिर्नका लागि पनि एमालेले सरकारको नेतृत्व गरेको हो ।
तपाईले यसो भनिरहँदा सिन्धुली एमालेमा त गुटबन्दी देखियो नि ?
तपाईले भनेजस्तो एमालेमा कुनै गुटबन्दी वा समूह छैन । हामी बिचमा केही असमझदारी हुन सक्छ । हाम्रा केही काम कारबाही पार्टीको बिधान बिपरित हुनसक्छ । त्यही विषयमा छलफल कुराकानी हुँदा कतिपय व्यक्तिलाई कुरा नमिले जस्तो, गुटबन्दी गरेजस्तो लाग्न सक्छ । जनताले नेकपा एमाले र यसको नेतृत्वसँग निकै ठूलो आशा गरेका छन्, अरुले चलाएको शासन सत्ताका परिणामहरु भोगिसकेका छन् । आश्वासन र चुनावी घोषणापत्र पनि हेरेका छन्, सरकार बनाउँदाका काम र त्यहाँ देखिएका कमजोरी पनि जनताले नियालिरहेका छन् । यो राजनीतिक कार्यकर्ताको कुरा हो । त्यसैले वैचारिक राजनीतिक कार्यक्रम पनि चलाउने, प्रशिक्षणका कार्यक्रम पनि राख्ने, वर्ग र वर्ग द्वन्द्वको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्छ । सिन्धुलीको एमाले नेतृत्व गुटबन्दीमा पर्नुहुँदैन भन्ने कुरामा अत्यन्त सचेत छौं । हामीले निष्कर्ष निकालेका छौं ।
जनताको बहुदलीय जनवाद मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, अहिले पनि नेपालका सबै कम्युनिष्टलाई जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन ?
मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो । त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकांक्षाहरु पुरा गर्ने भन्ने हो । यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन् । त्यसमा एमाले स्पष्ट छ । यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन ।
अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन् । मैले अन्य दलसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन । आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ । ती केबल आफ्ना स्वार्थहरु पूर्तिका लागि अलगअलग भएका हुन् । स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामथ्र्य एमालेमा मात्रै छ भन्नेमा म स्पष्ट छु ।
अहिले कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र अबसरवादीका मतियारहरु, अध्यक्ष कमरेड केपी ओलीलाई गाली गर्न आफ्नो सम्पूर्ण शक्ति खर्चिरहेका छन् । उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन् । तर सक्दैनन् । केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन् । तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ । तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने छ । तर जो लामो कालखण्ड कम्युनिष्ट पार्टीमा रहेर काम गर्नुभयो । उहाँहरु अहिले पनि नेकपा एमालेनैं नेपालको कम्युनिष्ट केन्द्र मान्दै समाहित भइरहनु भएको छ । म के आब्हान गर्दछु भने सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन छरिएर होइन, सबैजना एकै ठाउँमा बसेर योगदान दिन सकौं ।
सन्देश जनप्रिय साप्ताहिकले प्रमुखका साथ प्रकाशन गरेको यो अन्र्तवार्ता सोही अखवारको अनलाइन संस्करणमा पनि प्रकाशन गरिएको छ ।