महाँपण्डित चाणक्यले भनेका थिएः ‘अहंकार र पूर्वाग्रहले सबैलाई बिगार्छ ।’ अहिलेको पार्टी राजनीति यही दिशाबाट अगाडि बढ्न थालेपछि लामो कालखण्ड पार्टी राजनीतिमा जीवन बिताएकाहरुमा तिब्र चिन्ता हुन थालेको देखिंदैछ ।
यतिबेला हामी समाजलाई नयाँ ढंगले रुपान्तरण गर्ने महाअभियानमा छौं । यसको लागि हामीले हाम्रो देशको राजनीतिक प्रणालीलाई निश्चित दर्शन, विचार र राजनीतिक कार्यक्रमको आधारमा मार्गदर्शन गर्ने वैज्ञानिक पार्टी पनि बनाएका छांै ।
त्यसरी बनेको पार्टी संगठनको तिनवटा महत्वपूर्ण र आधारभूत तह हुन्छ । पहिलो नेतृत्व , दोश्रो कार्यकर्ता र तेश्रो विशाल जनसमुदाय समेतको समर्थक र सुभेच्छुकहरुको पंक्ति हो । पार्टीको नीति र कार्यक्रम तय भईसकेको अवस्थामा नेतृत्व र जनसमुदायको बिचमा पुलको काम गर्ने कार्यकर्ताहरु सबैभन्दा महत्वपूर्ण र निर्णायक शक्ति हुन् भन्ने कुरालाई माक्र्सवादी लेनिनवादी पार्टी नेताहरुले राम्रोसँग बुझ्नुपर्छ ।
हामीले मात्रै होइन यो समाजमा सक्रिय हरेक वर्गका राजनीतिक पार्टीले राम्रोसँग बुझेका हुन्छन् । त्यसकारण नेतृत्वले कार्यकर्ताको छनोट, परिचालन र जिम्मेवारी हस्तान्तरण र नेतृत्व विकास गर्दा निश्चित मापदण्ड अनुसार निर्णयमा पुग्नु पर्दछ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गल्ती किमार्थ गर्नु हुँदैन ।
पार्टी प्रति कार्यकर्ता र जनताको भरोसा प्राप्त भयो भने मात्रै हाम्रा योजना र कार्यक्रमहरु पूरा गर्न सक्छौ । तर हामी कहाँ पार्टी कार्यालयको परिसर र नेताहरुको घर र कोठा चाहारेर हिड्नेहरुले मात्रै नेतृत्वमा पहुँच राख्ने अवस्था बन्दै जाने हो भने तलका सोझासिधा, निष्ठावान र ईमानदार नेता, कार्यकर्ताहरु सँधै ओझेलमा पर्नेछन् । कार्यकर्ताहरुको क्षमता र कमजोरीको बारेमा गहिरो अध्ययन, सुझबुझ बेगरै मनोगत र पूर्वाग्रही ढंगले निर्णय गर्दै जानथाल्यौं भने यसले हामीलाई झनै कमजोर बनाउदै लैजाने खतरा रहन्छ । अन्ततोगत्वा विगतमा जस्तै हाम्रा विरोधीहरुसँगको प्रतिस्पर्धामा हामी फेरि पनि असफल हुनेछौं । के हामीले फेरि भविष्यमा चाहेको प्रतिफल यहि नैं हो त ? यस्तो नहुनका लागि त नेतृत्वमा बस्नेहरुले निस्वार्थ र दुरदर्शि विचार र भावना राखेको हुनु पर्दछ ।
पार्टीको विधान, मापदण्ड र परम्परालाई ओझेलमा पार्ने गरि नेताहरुलाई प्रभावमा पार्ने खुविवालाहरुको जिल्ला र गाउँका जनता माझ कस्तो प्रभाव र छवि छ ? तिनले जनता बिचमा पार्टीको बिचारलाई कसरी प्रचार प्रसार गरिरहेका छन् ?
संगठन निर्माण र सञ्चालन कसरी गरिरहेका छन ? असंगठित र पिछडिएका जनतालाई कम्युनिष्ट विचार र दृष्टिकोणको आधारमा एकताबद्ध र सचेत गर्ने, जनतासँग नङ र मासु जस्तै घनिष्ठ सम्बन्ध स्थापित गर्दै आम जनसमुदायलाई संगठित र अभेद्य भौतिक शक्तिमा रुपान्तरण गर्ने सामथ्र्य राख्छन् कि राख्दैनन् भन्ने बिषयमा गहिरो छलफल पछि मात्रै उपयुक्त जिम्मेवारी दिईनु पर्छ ।
यस विषयमा वस्तुपरक र ठोस मुल्यांकन भएन भने पार्टीमा विकराल असन्तुष्टि आउन सक्छ । त्यसले बिघटन र विसर्जनको अवस्था ल्याउन सक्छ । सिङ्गै जीवन दुःख कष्ट गरेर भिरपाखामा बसेर जनताको सुखदुःख संग जोडिएका पार्टीका पुराना र पाका नेता र कार्यकर्ताहरुलाई पछाडि राखेर नेतृत्वकै वरिपरि नाचगान गर्नेहरुले मात्रै जिम्मेवारी र अवसर पाउने अवस्था रहेमा अभाव, अपमान र तिरस्कार सहेर सधै हाडछाला घोटेर राजनीति गरिरहनुको कुनै औचित्य छैन भन्ने गुनासो प्राय सबै पार्टीमा बढ्दै गएको देखिन्छ । यसै पनि मुलधारका ठुला पार्टी प्रति जनतामाझ चरम असन्तुष्टि, वितृष्णा र आलोचना बढ्दैछ । त्यसको एउटा मुख्य कारण पार्टी भित्र बढ्दै गएको पक्षपात र खुरापाती प्रवृत्तिको बर्चस्व हुने अवस्था पनि महत्वपूर्ण कारण हो ।
पार्टी भित्रका बरिष्ठ र कनिष्ठ, असल र कमसल कार्यकर्ता को छन् भनेर छुट्याउने स्पष्ट मापदण्डको निर्धारण गरेर जिम्मेवारी तोक्ने बैज्ञानिक विधिको पक्षमा दृढताका साथ उभिएको अवस्थामा मात्रै पार्टीले हरेक मोर्चामा चमत्कारपूर्ण सफलता हासिल गर्न सक्छ ।
पार्टीमा कार्यकर्ताहरुलाई जिम्मेवारी दिंदा उसको सकृयता, ईमानदारीता र वरिष्ठतालाई कुल्चेर गरिने मनोगत निर्णयबाट बच्न नेतृत्वले हमेशा सचेत रहनु पर्दछ । नेता कार्यकर्ताको योग्यता र क्षमता उनको नेतृत्वसँगको निकटताले निर्धारण गर्न थालेपछि त्यसले पार्टी निर्माणमा सहयोग पुग्दैन । यस्तो अबस्थामा पुरानाले छाड्ने र नयाँले नेतृत्व धान्न नसकेर पार्टी कमजोर हुने अवस्था आउन सक्छ । हाम्रो जस्तो उदियमान र सशक्त राजनीतिक दलको विकासक्रम अबरुद्ध हुन नदिन पार्टी नेतृत्व सचेत रहनु पर्दछ ।