नेकपा एमालेका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीमा लागेर मोजमस्ती गर्नेहरुको दिन सकिएको बताउनु भएको छ ।
नेकपा एमाले सिन्धुलीको तेस्रो पूणर् बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य दिंदै बुधवार सो कुरा बताउनु भएको हो । पार्टी अहिले कठोर बनेको बताउँदै नेता बनेर मोजस्ती गर्ने र पार्टी संगठनलाई सिध्याउनेहरुलाई जिम्मेवारी त्याग्न सुझाब दिनुभएको हो ।
उहाँले बैठकमा भन्नुभयोः पार्टीमा मोजमस्ती र रमाइलो गर्नेहरू नेतृत्वमा नबस्न र बस्नेहरूले पार्टीको नीति भित्र बसेर काम गर्न लाग्नुस्, नीति,विधी र पद्धतिभित्र रहेर काम गर्नुभयो भने नेकपा एमाले बलियो भएर जाने बताउनुभयो ।
नेता भट्टराईले पार्टी नेताहरुलाई नराम्रो काम गर्ने छुट नभएको बताउँदै जिल्ला पार्टीको एजेण्डा बनाउन तथा पार्टीलाई सुदृढ बनाएर अडाडि बढाउने सन्दर्भमा पदाधिकारीहरु सबै सामेल गरिनु पर्ने बताउनुभयो । उहाँले पार्टीका एजेण्डाहरु निर्माण गर्दा सबै पदाधिकारीहरु बसेर गर्न पनि जिल्ला नेतृत्वलाई सुझाब दिनुभयो ।
अहिले पार्टी र नेतृत्वका बिरुद्ध चोक चौतारा र चियापसलमा आलोचना गर्नेहरुको संख्या बढिरहेकाले पार्टी विरुद्धका भ्रमहरु बारे बहस गर्न र त्यसको प्रतिकार गर्नेगरी तयारी गर्नसमेत उहाँले निर्देशन दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी माथि गरिएको कु प्रचारका विरुद्ध प्रष्ट पारेपनि सत्ता गुमाउनेहरुले अहिले चौतर्फी रुपमा भ्रम छरिरहेको उल्लेखगर्दे नेता भट्टराईले सरकारमा रहँदा केही नगर्ने र बाहिर हुनासाथ गलत कुरा गर्ने काम अहिले भइरहेकाले त्यसका विरुद्ध उभिन नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले सिन्धुलीको जिल्ला अधिवेशनमा देखिएको धारलाई मेट्नेगरी लाग्न सबै नेताहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जंग थापाले एमालेलाई एक ढिक्का बनाएर लैजान सबैको साथ र सहयोग जरुरी भएको बताउनुभयो । हामी सबै पार्टीको नीति, बिचार र सिद्धान्तमा अडिग भएर संगठनात्मक कामहरु गर्ने हो भने सिन्धुलीमा एमाले पहिलो पार्टी बन्ने र सबै मोर्चाहरुमा पनि एक नम्बर पार्टीको हैसिय कायम रहने उल्लेख गर्नुभयो ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडी, विशमलाल अधिकारी दनुवार, कमल जंग थापा, सुवास देवकोटा, निरु दर्लामी र उमा कोइराला सहभागी हुनुहुन्थ्यो । नेकपा एमालेले जिल्ला कमिटी सदस्यहरुलाई कस्तो जिम्मेबारी लिन चाहनु हुन्छ भन्दै आफ्नो कुरा राख्न भनिएको थियो । बैठकमा जिल्ला कमिटी सदस्यहरुले कार्य विभाजनका क्रममा आफूले जिम्मेवारी लिन चाहेको भूगोल र क्षेत्रका विषयमा प्रष्टसँग राख्नुभएको थियो ।
आजको बैठकमा जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सदस्यहरुले त्यसमाथि टिप्पणी गरेका थिए । अध्यक्ष श्रेष्ठले वैचारिक राजनैतिक काम, पार्टी निर्माणको काम, आलोचना आत्मालोचना, आन्तरिक सौहार्दता र एकता कार्यक्रम, पार्टी हितकोश, दण्ड र पुरस्कार जस्ता विषयहरूलाई पार्टीले कार्ययोजनामा राखेको थियो । बैठकले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने निणर्य गरेको छ ।
यस अगाडि प्रमुख अथिति भट्टराईले नेकपा समाजवादी सिन्धुलीका उप सचिव रमेश नेपाल लाई नेकपा एमालेमा स्वागत गर्नु भएको छ । पार्टीमा समाहित भएपछि बोल्दै नेपालले पार्टी विभाजन गरेर माधव नेपालले गम्भीर गल्ती गरेको बताउँदै समाजवादीका सम्पूणर् नेता कार्यकर्तालाई एमालेमा समाहित हुन अपील गरेका छन् । जिल्ला अध्यकक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कणर् घिसिङले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव नवराज थिङले गर्नु भएको थियो ।