सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शीर्ष नेताहरुबीच पार्टीभित्रको आन्तरिक विवादबारे राम्ररी छलफल हुन नसकेका बेला अकस्मात आज बिहान ११ बजे स्थायी कमिटी बैठक डाकेको केही समय अगाडिबाट सदस्यहरुलाई सूचना पठाइएको छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र कार्यसूचीबारे पूर्णरुपमा गृहकार्य नगरी स्थायी कमिटी बैठक बोलाएका छन्।
पार्टी उच्च स्रोतका अनुसार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नभइसकेको पृष्ठभूमिमा बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनको मस्यौदा मात्रै पेश गर्ने र बैठकमै कार्यसूची तयका लागि प्रस्ताव गर्ने भएका हुन्।
ओलीले पूर्वसहमति कार्यान्वयन नगरेपनि प्रचण्डले बैठकमा हुनसक्ने सम्भावित विरोध र आलोचनाको जिम्मा आफूले लिने बताएपछि ओली बैठक बोलाउन राजी भएको स्रोतको भनाइ छ।
‘पूर्व सहमित कार्यान्वयनमा प्रधानमन्त्री इच्छुक हुनुहुन्न। राजनीतिक प्रतिवेदन पनि कस्तो बनाउने भन्नेमा पनि दुई अध्यक्षबीच विवाद कायमै छ। स्थायी सदस्यहरुको चर्को माग थेग्न नसकेपछि बैठक डाकिएको हो। जे हुन्छ अब बैठकमै हुन्छ’, स्रोतले भन्यो।
ओलीले गत वैशाख २० गते प्रचण्डसँग एक्लै र सचिवालय बैठकमा भएका सहमति कार्यान्वयन नगर्ने संकेत देखाएपछि राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी पाएका प्रचण्डकाे असन्तुष्टि कायमै छ।
स्रोतका अनुसार ओलीले स्थायी कमिटी बैठक बोलाउनेबारे मगंलबार बिहान प्रचण्डलाई फोनमार्फत जानकारी गराएका थिए। नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्डसँग भेटसमेत गरेका थिए।