
कोरोना भाइरसको संक्रमण बढेलगत्तै गृहमन्त्री रामवहादुर थापाको निर्देशनमा गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान कडाई गरेको छ। गृह मन्त्रालयले मंगलबार एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

यो निर्णय बिहीबारदेखि लागु हुनेछ। गृहले उपत्यकामा काम गर्ने सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरेको छ। सम्बन्धित नियामक निकायबाट पास लिएको हुनुपर्ने व्यवस्था गरिएको गृहका एक अधिकारीले जानकारी दिए।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए। गृह मन्त्रालयमा गृह सचिव र तीनवटा सुरक्षा निकायका प्रमुखबीच भएको बैठकपछि यस्तो निर्णय भएको हो।