कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।
अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ।
कपिलवस्तुमा मंगलबार दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।
मंगलबारै थपिएका रुपन्देहीका ९ जना संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन्। उनीहरु भारतको मुम्बईबाट आएर लुम्बिनीमै क्वारेन्टाइनमा बसिरहेका थिए।