सिन्धुली जिल्लामा सरुवा भएर आएका प्रहरी उपरिक्षक बिनोद शर्माले सिन्धुलीमा मुख्य समस्याका रुपमा रहेको नदीजन्य प्राकृतिक स्रोतको दोहन, बन चोरी निकासी र लागु औषध नियन्त्रणमा ध्यान दिने बताएका छन् ।
सिन्धुलीका सुरक्षा निकायका प्रमुखहरुलाई साक्षी राखेर आइतवार एसपी शर्माले सिन्धुली प्रहरीका पाँच लक्ष्य सार्वजनिक गर्ने क्रममा पहिलो प्राथमिकतामा लागु औषध रोकथाम र नियन्त्रणका साथै राजनैतिक पहुँचका आधारमा हुने गरेको नदीजन्य प्राकृतिक स्रोतको दोहन र बन तस्करी रोक्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
नदीजन्य कामहरु सञ्चालन गर्न सहज बनाईदिनु परो भन्दै आफु सरुवा भएर सिन्धुली आएकै भोलिपल्ट मानिसहरु भन्न आएको बिबरण पत्रकार र प्रमुुख जिल्ला अधिकारीलाई सुनाउँदै प्रहरी उपरिक्षक शर्माले बन पैदाबारको अबैद्य चोरी निकासी रोक्न सिन्धुलीमा निकै ठूलो चुनौती रहेको बताएका थिए ।
पत्रकारहरुसँग सिन्धुली जिल्लाका समस्याहरुको बिबरण टिपेपछि शर्माले शान्ति सुरक्षा लगायत आफ्नो पाँच लक्ष्य सार्वजनिक गरेका थिए । प्रहरी बद्नाम भएको छ, म त्यसलाई सुधार गरेर देखाउने छु त्यसका लागि सिन्धुलीका अन्य सरोकारवालाहरु पनि सुधारिन जरुरी छ, उनले अगाडि भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनालले सिन्धुलीमा सुरक्षा चुनौती नभएपनि अन्य समस्याहरु रहेको बताउँदै कानूनलाई हातमा लिने जो कोहीलाई पनि नछोडिने बताए । डन र धनको प्रभावबाट सिन्धुलीको सुरक्षा व्यबस्था प्रभावित नहुने उनले प्रष्ट पारे ।
सशस्त्र प्रहरी प्रमुख बलराम प्रसाई र राष्टिय अनुसन्धान विभागका प्रमुख सुवास कार्की र सिन्धुलीका क्रियाशिल पत्रकारहरु सहभागि थिए ।
हिन्दी सिनेमा नायकका हिरोझैं प्रस्तुत भएका एसपी शर्माले आफ्नो वोली र व्यवहारलाई कसरी कार्यान्वयनमा लैजान्छन् त्यो भने हेर्न बाँकी छ ।
विगतका प्रहरी प्रमुखले सुनलाई रातारात पित्तल बनाउने देखी रकम असुली गरेर तस्करीका समानहरु छोडेको तथ्यलाई नया आएका एसपी शर्माले कसरी प्रहरी संगठनलाई मर्यादित र अनुशासित बनाउँछन् त्यसैले उनको पाँच लक्ष्यको मार्ग पहिल्याउने देखिएको छ ।
