सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । २०७८ साल फाल्गुन १३ गते पुष्प कार्की गाउँपालिकाको अध्यक्ष रहदा प्रशासनिक भवनको टेण्डर प्रक्रिया अघि बढाएपनि विवाद भएपछि रद्ध गरिएको थियो ।
तत्कालिन अध्यक्ष कार्कीले स्वच्छ प्रतिस्पर्धा नगराई प्रशासनिक भवन निर्माणको काम ठेकेदार कम्पनिलाई सुम्पिन खोजेपछि विरोध भएको थियो । २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा शंकरराज बराल निर्वाचित भएपछि तत्कालिन अध्यक्ष कार्कीले लगाउन खोजेको ठेक्का जेठ १८ गते रद्ध गरिएको थियो । अध्यक्ष बरालले पहिलो कार्यपालिका बैठकमै उक्त टेण्डर रद्ध गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णय कार्यान्वयन हुन झण्डै एक वर्ष बढि समय लागेको छ । गाउँपालिकाले टेण्डर रद्ध गर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध उच्च अदालतमा समेत रिट परेको थियो । रिट उपर फैसला गर्दै उच्च अदालतले गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न आदेश दिएपछि प्रशासनिक भवन निर्माणको कामले तिव्रता पाएको छ । सिन्धुलीका ९ स्थानीय तहमध्ये ८ वटाले आफ्नै प्रशासनिक भवन निर्णाण गरी सेवा प्रवाह गरिसकेका छन् । तर, गोलन्जोररले आफ्नै भवन बनाउन सकेको थिएन ।
गाउँपालिका र काठमाडौंस्थित बानेश्वरको निर्माण कम्पनी ‘पाइनस कन्ट्रक्सन प्रालि’ बीच भदौ १२ मा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । भ्याट बाहेक ६ करोड ११ लाख ११ हजार २५७ रुपैयाँमा भवन निर्माणको सम्झौता भएको छ । प्रशासकीय भवनको क्षेत्र ५ रोपनी बढी छ । यद्यपि भवन भने ३७४.५ वर्ग मिटरमा बन्ने छ । ४ तलाको भवनमा ३८ कोठा हुने र वरपर पार्क, चौतारा पनि तयार हुने बताइएको छ । पाइनस कन्ट्रक्सनले २०८२ भदौ १५ मा निर्माण सम्पन्न गर्नुपर्ने पालिकाका इन्जिनियर सुशील शर्माले बताउनुभयो । इन्जिनियर शर्माका अनुसार गाउँपालिकाले २०७९ चैत १६ मा भवन निर्माणका लागि ठेक्का आह्वन गरेको थियो । उक्त ठेक्कामा १३ कम्पनीले आवेदन दिएका र ५ कम्पनी प्राविधिक मूल्यांकनमा बाहिरिएका थिए । बाँकी ८ कम्पनीको प्राविधिक मूल्यांकन हुँदा पाइनस कन्ट्रक्सनले सबैभन्दा कम मूल्य प्रस्ताव गरेपछि ठेक्का पाएको हो । इन्जिनियर शर्मा भन्नुहुन्छ, ‘पालिकाले भ्याट बाहेक ७ करोड ६० लाख ३९ हजार १९७ रुपैयाँ लागत अनुमान गरेपनि कम्पनीहरुको प्रतिस्पर्धाले ६ करोड ११ लाख रुपैयाँमा सम्झौता भयो ।’
पालिकाका प्रमुख प्रसासकीय अधिकृत ठाकुरप्रसाद दाहालका अनुसार भवन निर्माणका संघीय सरकारले ६० प्रतिशत रकम आर्थिक सहयोग गर्ने र बाँकी ४० प्रतिशत पालिका आफैंले खर्च गर्नेछ । ‘सहरी विकास मन्त्रालय अन्तर्गत्को स्थानीय पूर्वाधार विभाग (डोली) ले काम गर्दै गर्नुस् ६० प्रतिशत रकम दिन्छौं भनेको छ तर, यो वर्ष संघबाट पैसा आएको छैन’ अधिकृत दाहालले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा भवनका लागि पालिकाले मात्रै करिब १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।’ भवन शिलान्यस गर्दै पालिका अध्यक्ष बरालले गुणस्तरिय कामसहित निर्धारित समयभित्रै भवन तयार गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । अधिकृत दाहालका अनुसार पाइनस कन्ट्रक्सनले अन्य ठाउँमा निर्माणको जिम्मावारी लिएर सम्झौताअनुसार काम गरकाले गोलन्जोरमा पनि २०८२ को भदौमा सम्पन्न हुने अपेक्षा पालिकाको छ । ‘आवश्यकताअनुसार बजेट भुक्तानी भएमा व्यवसायीले म्यादभन्दा अघि पनि भवन निर्माण गर्न सक्ने भनेको छ, संघ सरकारले बजेट दियो भने सम्झौता भित्र काम हुन्छ’ अधिकृत दाहालले भन्नुभयो ।
देश संघीयतामा गएर स्थानीयतहमा दोस्रो कार्यकाल सुरु हुँदा पनि गोलन्जोर गाउँपालिकाको प्रशासकीय काम कारबाही भाडाको घरबाट सञ्चालन भइरहेको छ । हाल पालिकाको केन्द्र ग्वाल्टारमा १४ कोठाको घरमा मासिक करिब ४२ हजार रुपैयाँ भाडामा लिइ पालिकाले प्रशासकीय काम गरिरहेको छ । आफ्नै प्रशासकीय भवन निर्माण भएपछि भाडा स्वरुप तिर्दै आएको उक्त रकम पालिकाले अन्यत्र लगानी गर्न पाउनेछ । भवन शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष बरालसहित उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार), वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) सविता केसी, इन्जिनियरलगायत स्थानीयको उपस्थिति थियो ।
