हरिबोलको राजीनामा बारे बालुवाटार बैठकमा कुरा राख्न खोज्दा प्रधानमन्त्री प्रचण्डले रोके

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन ।

उनले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आएका छन् । तर, राजीनामा बुझाएको तीन सातासम्म ठोस कुरा खुलाएका छैनन् । गजुरेलको राजीनामाको विषयमा बिहिबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराएका थिए । तर, स्वीकृत गर्ने नगर्ने भन्ने विषय राखेनन् ।

गजुरेल भन्छन्, ‘उहाँले पार्टीको बैठकमा मेरो राजीनामाबारे जानकारी गराउनुभयो । मैले पनि मेरो कुरा राख्छु भन्दा उहाँले तपाईंसँग छुट्टै छलफल गर्छु भन्नुभयो । त्यसपछि कुरा भएको छैन ।’

उनले अहिलेसम्म राजीनामा स्वीकृत भएको बालुवाटारबाट खबर नआएको बताए । त्यसो त उनीमाथि राष्ट्रिसभामा जानको लागि राजीनामा दिएको चर्चा पनि छ । तर, त्यो कुरा ठाडै अस्वीकार गर्छन् ।

उनले गत साता भनेका थिए, ‘मैले कुरालाई लिएर राजीनामा दिएको हुँ । व्यक्तिगत असन्तुष्टि र अर्को कुनै लाभ प्राप्त गर्नको लागि राजीनामा दिएको होइन । नीतिगत कुरा के हो भन्ने मैले भनेको छैन । राजीनामा पत्रमा लेखेको छु । स्वीकृत भइसकेपछि आइहाल्छ ।’

यद्यपि, बालुवाटारमा सल्लाहकारको रूपमा काम गर्न सक्ने अवस्था नभएपछि उनले राजीनामा दिएको बताइन्छ । उनी प्रचण्डसँग रुष्ट बनेको पहिलो घटना होइन ।

गत निर्वाचनमा सिन्धुली २ मा आफ्नो टिकट खोसिएर राजन दाहाललाई दिएपछि सन्तुष्ट थिएनन् । त्यही असन्तुष्टि सम्बोधन गर्नको लागि उनले राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । त्यसअघि तत्कालीन नेकपामा ओली प्रचण्डको टकराब परेको बेलामा गजुरेलसँग सम्बन्धमा बिग्रिएको थियो ।