सिन्धुली: पछिल्लो समय सर्वसाधारणमा आयुर्वेद स्वास्थ्य सेवा आकर्षण बन्न थालेको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले हिजो मंगलवार आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय सिन्धुलीका सर्वसाधारण आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अर्जुन उपाध्यायले आर्थिक बर्ष २०७७÷७८ मा ७ हजार जनाले सेवा लिएका थिए भने २०७८÷७९ मा १२ हजार जनाले सेवा लिए र सो संख्या बढेर आर्थिक बर्ष २०७९÷८० मा १६ हजार जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको बताए ।
चालु आर्थिक बर्षमा सो संख्यालाई बढाएर २० हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको समेत डाक्टर उपाध्ययले बताए । उनले सिन्धुलीको जनसंख्या हेर्दा आयुर्वेदिक सेवामा एलोपेथिक भन्दा तुलनात्कम रुपमा एकदमै कम मानिसले सेवा लिएको भएपनि पहिले भन्दा प्रत्येक बर्ष ५ हजारका दरले सेवाग्राही बढिरहेको खुलासा गरे ।
मानिस जब बिरामी पर्छन् तब मात्रै अस्पताल जाने र औषधी सेवन गर्नसाथ तुरुन्तै निको हुनुपर्ने चाहानाका कारणले आयुर्वेदिक भन्दा एलोपेथिक सेवा रुचाउन थालेको देखिएको छ । आयुर्वेदमा उपचार सेवा नै फरक हुन्छ । मानिसको जिवनशैली देखि रोग लाग्न नदिने उपायहरुलाई बढि केन्द्रित गरिन्छ । त्यसैले सिकिस्त भएका बिरामी भन्दा पनि जिवनशैली परिवर्तन चाहने मानिस मात्रै आउने गरेकोले सेवाग्राहीको संख्यामा कमी भएको हो उनले अगाडि भने ।