स्थानीय सरकारको बजेटबाट रकम झिकौं, सिमानामा तारबार लगाऔं

नगरप्रमुख खड्गवहादुर खत्री । फोटोः प्रदेशखवर


हाम्रो देश नेपाल , विश्वमा नै सवै भन्दा धेरै पटक युग परिवर्तनको घटना सँगाल्ने राष्ट्र हो र हामी नेपालीहरु यी घटनाका कर्ता र द्रष्टाहरु हौ । नेपालको आधुनिक इतिहास निर्माणको वर्षहरुदेखि करिव अढाई सताब्दीको विचमा हाम्रो देशमा धेरै युग वदल्ने गरी परिवर्तन भै सकेका छन् । नेपालको एकीकरण, नेपालको विखण्डन, कोतपर्वका विभिषिका र जहानियाँ शासनको उदय, प्रजातन्त्रको स्थापना र अवसान, निरंकुश राजतन्त्र, सम्बैधानिक राजतन्त्र, गद्घिसिन राजा र उनको परिवारको नृशंष हत्या, जनआन्दोलन र गणतन्त्रको अभ्यूदय जस्ता विष्मयकारी राजनीतिक घटनाक्रमहरुले हाम्रो आधुनिक इतिहास भरिएको छ । यी घटनाहरु कतिपय सुखद रहे र कतिपय विषाद । कति रक्तहिन त कति रक्तरञ्जित । यीनै घटनाक्रमहरुले नै नेपाललाई डोर्याउँदै आजको दिनसम्म र यहाँसम्म ल्याइपुर्याएको हो । यी घटनाक्रममा नेपाली जनताका करिव ५ पुस्ता सलग्न छन् । त्यसैले अहिले हाम्रो देश जे छ र जस्तो छ त्यो हाम्रो पुर्खाहरुबाट सृजित विरासत हो र हाम्रा लागि उनीहरुले छोडेको नासो पनि भएकाले यसको संरक्षण र उन्नयनका लागि हामी किञ्चित पछाडि हटनु नहुने भन्ने कुरामा दुई मत छैन ।

वर्तमान विश्वमा इतिहासले २ वटा कुरामा नेपाललाई अरु भन्दा अलग्गै पहिचान दिलाएको छ । स्वाधिन र अखण्ड भूमीको पहिचान । यही पहिचानलाई अक्ष्क्षुण राख्ने भावना नै हाम्रो लागि राष्ट्रियता हो र राष्ट्रियता नै कुनै पनि नागरिकको निर्विवाद पहिचान हो । यो पहिचान उपर कत्तिपनि खोट आउने कृत्य कुनै पनि नागरिकले अनुभूत गर्नु भनेको उसलाई असह्य आघात पुग्नु हो । हालका दिनमा नेपालीहरुको स्वाभिमानमा आँच आउने कार्य हाम्रो छिमेकी राष्ट्र भारतबाट भएकोछ । कथित शक्तिशाली र ठुलो भुगोलको दम्भले भारतले जुन कृत्य नेपाली सिमानामा विगतदेखि हालका दिनहरु सम्म पनि गर्दे आइरहेको छ त्यो कुनै पनि नेपाली जनतालाई सह्य छैन ।

अहिले आफ्नो एउटा असल छिमेकी राष्ट्र नेपाल उपर छिमेकी राष्ट्र भारतको नियन्त्रणात्मक दम्भ र मिचाहा प्रबृत्तिको कृत्य भारत–चीन जोडने राजमार्ग निर्माणको कार्यमा नेपाली भूमीलाई उपयोग गरेको घटनाबाट छताछुल्ल भएको छ । भारतको यो कृत्य घोर घृणित छ र भत्सर्ना योग्य पनि । त्यसैले नेपालको जमिन हडपेर राजमार्ग वनाउने काम तुरुन्त रोकीयोस् र वनेको राजमार्ग नेपाल सरकारको स्वामित्वमा फिर्ता गरियोस् र एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र उपर गरेको मिचाहा कार्यको अन्तर्राष्ट्रिय जगतमा भारतले प्रायश्चित पनि गरोस् ।

नेपालीहरु उपर भारतले गरेको तितो ब्यवहारका दृष्टान्तहरु नयाँ मात्र छैनन् । वि.सं. २०१८ सालमा कोदारी राजमार्ग निर्माण गर्ने सम्बन्धलाई लिएर भारतले नाकावन्दी गर्यो, नेपालको परराष्ट्र र रक्षा सम्बन्धी मामिलामा भारत पनि समावेश हुनुपर्छ भन्ने जस्तो हेपाहा एजेण्डालाई लिएर वि.सं. २०२७ सालमा भारतले दोश्रो पटक पनि नेपाल उपर नाकावन्दी गर्यो, हतियार खरिद, गान्धी परिवार र नेपालका राजासँगको ब्यक्तिगत टकरावका कारण भारतले तेश्रो पटक ब्यापार तथा पारवहन सन्धी नविकरणको नाममा वि.सं.२०४५ सालमा नाकावन्दी गर्यो र वि.सं. २०७२ सालमा नेपालको आन्तरिक राजनीतिलाई मुद्घा वनाएर चौथो पटक पनि नाकावन्दी गर्यो । अन्तर्राष्ट्रिय सन्धी र सम्झौतालाई वेवास्ता गरेर एउटा भुपरीवेष्ठित देशले पाउने सौभिध्यता उपर नाकावन्दीको रुपमा पटक पटक धावा वोल्ने कार्य भारतबाट भइरहेको छ र यसको मार नेपालीहरुलाई परिरहेको छ । नाकावन्दी मात्र होइन की एउटा छिमेकी राष्ट्रले अर्काे राष्ट्रको सिमा मिच्ने कार्यपनि भारतबाट हुँदै आइरहेको छ । भारतले नेपालको विभिन्न सिमावर्ती भुभागका कुल ६०,६६२ हेक्टर जमिन अतिक्रमण गरेको छ । भारतबाट हुँदै आइरहेका यी सम्पुर्ण कृत्यले नेपालीहरुलाई आवेशमा ल्याउने प्रयत्न गरिरहेको छ जसको कारण सदियौंदेखिको नेपाल र भारत सम्बन्धमा कटुता पलाएको छ ।

छिमेकी राष्ट्र खासगरी भारतले पटक पटक नेपाल र नेपालीहरुलाई दिदै आएको दुःख, नियन्त्रणात्मक ब्यवहार र राजनीतिक हस्तक्षेपहरुका विरुद्घमा शसक्त कदम चाल्ने र यस्ता कदम र ब्यवहारहरु लाई अन्तर्राष्ट्रिकरण गर्न सक्ने राष्ट्रवादी शक्तिको खोजीमा स्वाभिमान र राष्ट्रभक्त नेपालीहरु भएका वखत नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनताको त्यो अपार विश्वास प्राप्त गर्न सफल भई हाल तिनै तहको सरकारमा शसक्त भूमीका निर्वाह गर्ने जिम्मेवारी पाएकोछ । नेपाल उपर विदेशी हस्तक्षेप र नियन्त्रण जस्ता ब्यवहार भएका बखत शसक्त ढंगले प्रस्तुत भएर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो साख र जनताको अभिमत प्राप्त गरी आफ्नो पहिचान वनाउन सकेको हो र हाल भारतले गरेको सिमा अतिक्रमणका वेला पनि सरकारको समेत हैसियत सम्हाल्दै आएको नेपाल कम्यूनिष्ट पार्टी शसक्त ढंगले प्रस्तुत हुनुपर्ने अवस्थाको अन्य विकल्प छैन । जनतालाई नेपाल कम्यूनिष्ट पार्टीको सरकार सच्चा राष्ट्रबादी जनताको सरकार हो भन्ने कुराको बोध गराइनु पर्दछ । भारतको वि.सं. २०१९ सालदेखी नेपाली सिमा मिच्ने प्रबृत्ति र कार्यको अव नेपाल सरकारले सदाको लागि अन्त्य गर्नु पर्दछ । स्वाभिमान नेपाली सन्ततीहरुले यो पिडा र अपमानको वोध भविष्यमा गर्नु पर्ने अवस्था आउनु हुदैन । यसैका लागि जनताले नेपाल कम्यूनिष्ट पार्टीको सरकार वनाउने हैसियत प्रदान गरेका हुन ।

सिमा अतिक्रमण र खुल्ला सिमाना नियन्त्रणको लागि तारवार नै उत्तम विकल्प हो । नेपाल सरकारले यसैपालादेखी यो काम सुरुवात गर्नु पर्दछ । यसका लागि स्थानीय सरकारको वजेटबाट आवश्य रकम झिक्ने कुरामा कुनै पनि स्थानीय सरकारको मत भिन्नता हुने छैन । प्रत्येक नगरपालिकाको वजेटबाट रु. २ करोड र प्रत्येक गाउँ पालिकाको वजेटबाट रु. १ करोड वजेट सिमाक्षेत्रमा तारवारको लागि झिक्ने हो भने यस आर्थिक वर्षमा करिव १० अर्व वरावरको कोष निर्माण हुन्छ । यसै कोषबाट तारवार गर्ने अभियान सुरु गरि हाल्नु पर्ने कुरामा म केन्द्रिय सरकार सँग हार्दिक अपिल गर्दछु । साथै तमाम नेपालीको राष्ट्रप्रतिको समर्पण हेर्न प्रत्येक नागरिक सँग पनि सहयोग मागौ । अथाह स्रोत संकलन हुने कुरामा कुनै सन्देह छैन । सरकारले अभियान चालोस ।

एउटा देशको नागरिकलाई आफ्नै देशको एक स्थानबाट अर्काे स्थानमा जान विदेशी भुमी प्रयोग गर्नुपर्ने वाध्यता सायद अहिलेको समयको विश्वमा दुर्लभ होला । तर यो सच्चाई नेपालमा अध्यावधिक कायम छ । नेपालीहरु अहिले पनि यसो गर्न वाध्य छन् । स्वाभिमान र स्वतन्त्रमा कटु पिडा थप्ने यो अवस्थाको अन्त्य गर्न पनि केन्द्रिय सरकारलाई हार्दिक अपिल गर्दछु ।
भुगोलमा हाम्रो छिमेकी राष्ट्र भारत केही गुणा ठुलो छ तर अस्तित्वमा नेपाल भन्दा सताब्दीयौं कान्छो छ । भारत भन्दा कैयन वर्ष अगाडी नै नेपालमा सभ्यताको सुरुवाती भैसकेको थियो । भारतीयहरुले नसिक्दै नेपाली जनताले स्वतन्त्रता, आत्मसम्मान र स्वाभिमान प्राप्तीको लागी इतिहासका विभिन्न कालखण्डहरुमा लडाईहरु छेडेका छन् र अमुल्य जिवनहरु उत्सर्ग गरेका छन् साध्य प्राप्तीका लागि । नेपालको इतिहासमा स्वाभिमान र आत्मसम्मानको ग्यारेण्टी दिन नसक्ने शासकहरुलाई इतिहासमा सिमित पारी दिएका थुप्रै घटनाहरु छन् । स्वाभिमान र आत्म सम्मानको रक्षा गर्ने समयमा जस अपजसलाई अन्त्य गरेर सवै एक ढिक्का होऔं । अहिलेभन्दा उपयुक्त समय अव आउँदैन । खड्गबहादुर खत्री

लेखक नेपाल नगरपालिका सघं केन्द्रीय सदस्य तथा
नेकपा बागमती प्रदेश कमिटी सदस्य हुन् ।