चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर-पश्चिम चीनमा सोमबार राती गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना मानिसहरू घाइते भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ६.२ म्याग्निच्युडको भूमकम्प गएको हो। भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ। भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार गरिएका घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गरिएको चाइना डेलीको अनलाइन संस्करणले समाचार लेखेको छ ।