एजेन्सी: चिनियाँ राष्ट्रपति सी चिन फिङले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा सोमबार मध्यराती गएको ६.२ म्याग्नीच्युडको भूकम्पपछि प्रभावित व्यक्तिको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारका लागि आवश्यक सबै व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो विवरण अनुसार भूकम्पले गान्सु प्रान्तमा १ सय जनाको मृत्यु भएको छ भने छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको चाइना डेलीले लेखेको छ । प्रभावित क्षेत्रमा पानी, बिजुली, यातायात र सञ्चार जस्ता केही पूर्वाधारमा क्षति पुगेको चनियाँ अधिकारीहरुले बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले स्थानीय अधिकारीहरूलाई क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न आग्रह गर्नुभयो ।
उहाँले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो राहत सामग्री वितरण गर्न, क्षतिग्रस्त विद्युत, सञ्चार, यातायात र पिडितहरुलाई कठ्यांग्रिदो जाडोबाट जोगाउन तताउने एवम् आवश्यक पूर्वाधारको मर्मत गर्न अपील गर्नुभएको हो ।

प्रभावित जनताको आधारभूत जीवनयापनको सुनिश्चितता गर्न उचित आवासको व्यवस्था गर्न पनि आग्रह गरेको समाचार छ ।
भूकम्प प्रभावित क्षेत्रमा कार्यदल पठाएर भूकम्प पीडितलाई राहत कार्यको मार्गदर्शन गर्न प्रदेश परिषदलाई अनुरोध गरिएको छ । चिनियाँ जनमुक्ति सेना र जन सशस्त्र प्रहरी बलले स्थानीय सरकारहरूसँग सक्रिय रूपमा आपत्कालीन उद्धार र विपद राहत कार्यमा सहयोग गर्नुपर्छ र जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्नुपर्छ उहाँले अपीलमा भन्नुभएको छ ।
प्रधानमन्त्री ली छ्याङले दुर्घटना न्यूनीकरणका लागि फसेकाहरुको उद्धार र घाइतेको उपचारका लागि हरसम्भव प्रयास गर्न आग्रह गर्दै निर्देशन दिनुभएको छ ।
राज्य परिषदले प्रभावित क्षेत्रमा राहत कार्यको मार्गदर्शन गर्न कार्यदल पठाएको छ । गान्सु र छिङहाइ प्रान्तले प्रभावित क्षेत्रमा शिविर र फोल्डिङ बेड जस्ता राहत सामग्रीको तत्काल विनियोजन गरी राहत सहयोगको आयोजना गरेका छन् । भूकम्प पीडितको राहत कार्य व्यवस्थित रुपमा भइरहेको छ ।