गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।
गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका घटनाहरु सार्वजनिक हुन थालेपछि नीतिगत निर्णयगर्दै त्यसलाई कडाइका साथ रोक लगाएको हो ।
गाउँकार्यपालिकाले गरेको निर्णय जानकारी गराउँदै अध्यक्ष बरालले भन्नुभयोः बालविवाह गर्नु हुँदैन भन्ने कुराको सन्देश अहिले पालिकाका सबै वडामा पुगेको छ, त्यो चेतना अभिभावमा पनि छ यदी त्यसलाई व्यवहारमा लागु गर्नुभएन भने उहाँहरुले गाउँपालिका बाट पाउने सामाजिक सेवाहरु हामी रोक्न बाध्य हुनेछौं ।
संभबत वालविवाह रोक्नका लागि नीतिगत निर्णय गरेर त्यसलाई कडाइका साथ लागु गर्न वडा र गाउँस्तरमा प्रचार सन्देश पु¥याउने गोलन्जोर गाउँपालिका पहिलो मानिएको छ ।
तपाईहरुको निर्णयले बालविवाह रोकिन्छ भन्ने आधार के हो ? भन्ने सन्देश जनप्रिय साप्ताहिकको जिज्ञासामा अध्यक्ष बरालले भन्नुभयोः अहिले गाउँ गाउँमा वालवालिकाको निगरानी सञ्जाल बनेका छन् । वालक्लवहरु निर्माण भएका छन् । उनीहरुलाई वालदिवश मनाउन र समक्ष बनाउन गाउँपालिकाले रकम बिनियोजन गरेको छ, केही वालविवाह रोक्न सहयोग पाउँ भन्दै उनीहरुले पालिकामा उजुरी गर्ने गरेकाछन् र त्यसरी उजुरी आएका विवाह रोकिएको पनि छ । वालविवाह गर्ने र गराउने परिवारका सदस्यलाई हामीले पलिकाबाट प्रदान गर्ने सामाजिक सुरक्षाका पाइंदैन भन्ने सन्देश सञ्जाल र वालक्लवका सदस्यबाट प्रवाह गरिरहेका छौं । त्यसैले पनि हामी हाम्रो पालिकामा वालविवाहको बढ्दो ग्राफलाई रोक्न सफल हुने देखिरहेका छौं ।
उहाँ अगाडि भन्नुहुन्छः सूचना प्रविधीको बढ्दो प्रयोगसँगै भागेर गर्ने विवाहले भने हामीलाई केही अप्ठेरो बनाउने अबस्था आउन सक्छ । त्यसैले हामी अत्यन्त सचेतताका साथ सबै क्षेत्र र समुदायलाई साथमा लिएर त्यस्ता समस्या पनि निराकरण गर्ने पक्षमा छौं ।
गोलन्जोर गाउँकार्यपालिकाको मिति २०७९ फागुन २७ गते बसेको पूर्ण बैठकको निर्णय नम्बर २० मा भनिएको छः यस गाउँपालिका क्षेत्र भित्र बालबिवाह न्यूनिकरण गर्ने उदेश्यले २० वर्ष उमेर पुगी बिवाह गर्न योग्य भएका केटा वा केटीले बिवाह गर्नु पूर्व बिवाहका लागि उमेर पुगेको प्रमाण खुल्ने सरकारी कागजातको आधारमा सम्बन्धित वडा कार्यालयको शिफारिश लिनुपर्ने र अन्यथा गरेमा सम्बन्धित व्यक्तिले गाउँपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित गरिने निर्णय गरियो, सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त कार्यपालिका बैठकको प्रतिलिपीमा उल्लेख गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले स्थानीय सरकार वालवालिकाको संरक्षणका लागि निरन्तर लागिरहेको बताउँदै वालविवाह रोक्नलागि पालिकाले गरेको नीतिगत निर्णय कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । पालिका वालवालिकाको संरक्षणका लागि संवेदनशिल छ, हामी उनीहरुका लागि सरकार भएको अनुभूति दिलाउने छौं, उहाँले अगाडि भन्नुभयो ।
वालवालिकाको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाका अध्यक्ष दुर्गा पौडेलले संक्षिप्त प्रतिक्रियादिंदै वालविवाह रोक्नलागि पालिकाले नीतिगत निर्णय गरेको भए अत्यन्त सकारात्मक भएको टिप्पणी गर्नुभयो ।










