पहिरोले घर बगाउदा तिन जनाको शव फेला, दुई जना अझै बेपत्ता

बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण बाढी पहिरोले मकवानपुरको बाग्मती गाउँपालिका ५ सिक्रे दोभानका अक्कल बहादुर स्याङतानको घर बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

एकै घरमा बस्दै आएका ६ जनालाई पहिराले बेपत्ता बनाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले हरिहरपुरगढी र मरिण गाउँपालिकासँग समन्वय गरी ड्रोन क्यामरा समेतको प्रयोग गरी खोजी कार्य गरेको थियो ।

खेजीका क्रममा सिन्धुली हरिहरपुरगढी गाउँपालिका  १  निवासी १६ वर्षीय पासाङ घिसिङलाई सोही दिन बाग्मती खोलाको किनारमा घाइते अवस्थामा फेला पारी उद्धार गरिएको थियो । उहाँको हेटौडामा उपचार भई रहेको छ ।

यस्तै पहिरोमा परि सिक्रे दोभानका ६३ वर्षीय अक्कल बहादुर स्याङतान र उहाँको छोरी २२ बर्षिया शिला पहरीको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

खोज कार्यको क्रममा बिहीबार शिला पहरीको छोरी १८ महिनाको दिव्या पहरीको हरिहरपुरगढी गाउँपालिका ३ बनौली स्थित बाग्मती खोलाको किनारमा मृत अवस्थामा फेला परेको उहाँको भनाई रहेको छ । पहिरोमा परि २५ वर्षीय जीवन पहरी, ३ वर्षीय देव पहरी बेपत्ता हुनु भएको छ ।