कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र वित्तीय प्रगति लक्ष्यको ९९.७६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । रकम अभावमा वित्तीय लक्ष्यमा थोरै कमी भएको दाबी गर्ने गौरवका आयोजनाहरु मध्ये सिन्धुलीको सुनकोशी मरिण डाइसभर्सन पहिलो मानिएको छ ।
आयोजना प्रमुख मित्र बरालका अनुसार खन्न सुरु भएपछिको ९ महिना १० दिनसम्म (असार मसान्तसम्म) ७ हजार ५७१ मिटर अर्थात ७.५७१ किलोमिटर) सुरुङ खन्ने काम भएको छ । कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५६. ८६ प्रतिशत सम्पन्न भएको हो ।
सुरुङ खन्ने काम कमलामाई नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल महाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउँ शीरमा सुरुङ पुगेको बरालको भनाई छ । १३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो नै सबैभन्दा बढी उचाइ रहेको उनले जानकारी दिए । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब सहज रुपमा सुरुङ निर्माण सम्पन्न हुने बरालले विश्वास व्यक्त गरेका छन् ।
१५ अर्व ५९ करोड ४० लाख रुपैयाँ अनुमान रहेकोमा कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै भव्य समारोहकीच सो आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पु¥याउने शिलान्यास कार्याक्रमा बताइएको थियो ।