प्रितम सिंह प्रकरणबारे संसदमा प्रचण्डद्धारा कमजोरी स्वीकार : ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो, भावनामा बगेर बोलें’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे ।  उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए ।

आफूमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको बताए ।

उनले भने, ‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । उनले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन । कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैंले पनि भनेका छन् । उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले आफूलाई यो पटकको प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर नभई अहिले प्रमुख प्रतिपक्षीमा भएका दलहरूले नै राष्ट्रपतिलाई पत्र लेखेर बनाएको पनि बताए । उनले राष्ट्रपतिलाई लेखेको पत्रको अवहेलना हुनेगरी प्रश्न उठाइएको गुनासो गरे ।