सिन्धुलीको गोलन्जो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्षले आक्रमण गरेकाछन् । गाउँपालिकाको जारी नीति तथा कार्यक्रम पारित भएपछि त्यसमा असहमति जनाउँदै उठेका वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि आक्रमण गरेका हुन् । नीति तथा कार्यक्रम पारित गरिएको सम्बन्धी माइन्यूट च्यान पुगेका वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलको घाँटी समाउँदै आक्रमण गरेपछि उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले छुटाएका थिए । आक्रमणका क्रममा पालिकाको सवारीसाधान समेत तोडफोड भएको छ भने प्रहरीसमेतलाई लडाइएको थियो ।
बागमती प्रदेशले जारी गरेको ऐन अनुसार निति तथा कार्यक्रम पारित गर्न तीनपटकसम्म गाउँसभा बस्दा गणपुरक संख्या नपुगेमा गाउँसभामा उपस्थित २५ प्रतिशतले निति तथा कार्यक्रम पारित गर्ने प्रावधान रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । कानुनि प्रक्रियाका बारेमा आफूले गाउँसभालाई जानकारी गराउँदा निति तथा कार्यक्रम पास गर्न सहयोग गरेको भन्दै वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलले बताए । प्रमुख प्रशासकीय अधिकृतले गाउँसभामा मादक पदार्थ सेवन गरेर प्रवेश गरेकोले सभा स्थल बाहिर बोलाएर सम्झाई बुझाई गरेको वडा अध्यक्ष कार्कीले बताउनु भयो । हातपात नभई मादक पदार्थ सेवन गरेर गाउँ सभामा नजान सम्झाएको वडा अध्यक्ष कार्कीको भनाई छ ।
यता, इलाका प्रहरी कार्यालय खुर्कोटका इन्चार्ज प्रहरी निरिक्षक सबिता केसीले खुर्कोट सामुदायिक अस्पतालमा पौडेलको मापसे परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । पौडेलले मादक पदार्थ सेवन नगरेको डाक्टरले जानकारी दिएको इन्स्पेक्टर केसीले जानकारी दिइन् ।
चालु आर्थिक वर्षमा गोलन्जोर गाउँपालिकाको संघीय अनुदान घटेर आएकोले गाउँपालिकाले प्रत्येक वडालाई ४० लाखको सिलिङ गर्न अनुरोध गरेको थियो । चालु आर्थिक वर्ष २०७९/०८० मा प्रत्यक वडाले ८० लाख बजेट पाएको थियो ।
यसैबीच नेपाल निजामती कर्मचारी संगठनले प्रमुख प्रशासकिय अधिकृत पौडेलको कठालो समाउने वडाध्यक्ष कार्कीलाई कानूनी कारबाही गर्न माग गरेको छ । संगठनका अध्यक्ष पदम मगर र सचिव डिल्ली सौगात घिमिरेले एक विज्ञप्तीजारीगर्दै आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको हो ।












