हरिहरपुरगढीमा भूमिहिनलाई निस्सा बितरण

सिन्धुली: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई निस्सा बितरण गरिएको छ । वडा नम्बर २ मा हिजो मंगलवार आयोजित एक कार्यक्रमका बीच एक हजार नागरिकलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रियाका लागि जग्गाको निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।
पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरु रहेको २ नम्बर वडाका एक हजार जनालाई निस्सा बितरण गरेपछि स्थानीय उत्साहित भएको अध्यक्ष वाइवाले बताए ।
लामो समय देखि हरिहरपुरगढी गाउँपालिकामा अब्यवस्थित रुपमा बसोबास गरिरहेका स्थानियलाई ब्यबस्थित गर्ने उदेश्यले भूमि आयोगको सहयोगमा ८ वटै वडामा लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण गर्ने प्रक्रियाको प्रारंभ भएको वाइवाको भनाई थियो ।
भूमी आयोग सिन्धुलीका सदस्य सचिव एवम् नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले निस्सा बितरण भइसकेको ठाउँमा जग्गाधनी प्रमाणपूर्जा बितरणको काम अगाडि बढाउन लागिएको बताए । हरिहरपुरगढी गाउँपालिकाको ७ नम्बर वडाका १ हजार र ६ नम्बर वडाका ९ सय जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरीरहेका लाई निस्सा बितरण गरिसकेको छ । यस्तै ३ नम्बर वडाका १७ भूमिहीनलाई जग्गाधनी प्रमाण पूर्जा बितरण गरिसकेको अध्यक्ष वाइवाको भनाई रहेको थियो ।