निर्माणाधिन सिन्धुली अस्पतालको भवन अलपत्र

आफैं बिरामी बनेको सिन्धुली अस्पतालले तीन साता अगाडिबाट डाइलोसिस सेवा सञ्चालनमा ल्याएपनि निर्माणाधिन अस्पताल भवन भने अलपत्र परेको छ । तत्कालिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर एकै साथ सैयौं स्वास्थ्य संस्थाको शिलान्यास गरेका थिए भने तत्कालिन बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल सरकारले सिन्धुली अस्पातललाई सुविधा सम्पन्न अस्पताल बनाउन रकम बिनियोजन गरिदिएको थियो । तर अहिले एमाले नेतृत्वको सरकार ढलेसँगै सिन्धुली अस्पताल भवनको निर्माण कार्य बीचमैं रोकिएको हो ।
सिन्धुली अस्पतालको भवन निर्माणको काम यो समाचार तयार पर्दासम्म ठप्प रहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापले बजेट रोकिदिएपछि भवन निर्माणको कामले गति लिन नसकेको निर्माण पक्षको भनाई रहेपनि तोकिएकै समयमा काम नभएकाले रकम निकासा नभएको बताइएको छ ।
संघिय सरकारको २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ करोड रुपैयाँको लागतमा २०७७ साल चैत्र ७ गते सिन्धुली अस्पतालको भवन निर्माणको जिम्मा पाएको हनुमान कन्ट्रक्सनले सम्झौता अनुसारको काम गर्न नसकेपछि रकम निकासा रोक्का भएको बताइन्छ ।
२०७९ चैत्र ६ गते निर्माण कन्ट्रक्सनले भवन हस्तान्तरण गर्नुपर्ने भए पनि गत असोजबाट आयोजनाले भुक्तानी नगरेकाले जुन गतिमा भवन निर्माण भइरहेको थियो हाल सुस्त भइरहेको हनुमान कन्ट्रक्सनले दाबी गरेको छ । भवन निर्माणको काम ८३ प्रतिशत मात्रै सकिएको भएपनि बाँकी कामहरु सुचारु गर्ने तर्फ पटक पटक ताकेता गर्दापनि काम अगाडि नबढाएपछि रकम निकासा रोकिएको बताइन्छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्टिमेट अनुसारको काम सिन्धुली अस्पतालमा हुनै सकेन । तोकिए अनुसार काम नभएकाले रकम निकासा रोकिएको बताए । अस्पतालमा अझै धेरै काम गर्न वाँकी छ, ती अधिकारीले मंगलवार राती सन्देश जनप्रियसँग भने । यता निर्माण पक्षले भने अर्थ मन्त्रालयमा गएर फाइल रोकिरहेको जानकारी गराएको छ । आयोजनाले स्वास्थ्य बिधा तर्फ हाल बजेट सकिएकाले नयाँ बजेट बिनियोजन गरेर बजेट उपलब्ध गराउन प्रयास गरिने जवाफ दिने गरेको उनको भनाई छ ।
भवन हस्तान्तरणको लागि कन्ट्रक्सनले असार मसान्तसम्मको म्याद थप गरेको छ । हाल निर्माण कन्ट्रक्सनले आयोजना बाट १६ करोड बजेट लिइसकेको छ । अस्पतालको भवन निर्माणमा लिफ्ट जडान, सडक निर्माण, पार्किङ , बगैंचा व्यवस्थापन र रङरोगन लगायतका काम बाँकि नै रहेको छ ।
आयोजनाले केहि समयमा नै बजेट उपलब्ध नगराए भवन निर्माणको काम नैं बन्द गर्नुपर्ने स्थिती सिर्जना भएको निर्माण कन्ट्रक्सनले जनाएको छ । भुक्तानी नहुँदा पनि निर्माण कन्ट्रक्सनले नै खर्च ब्यहोरेर काम बन्द हुन नदिएको तर लामो समय भइसकेकाले काम नै बन्द हुन सक्ने इन्जिनियर सलन बिष्टको भनाई छ ।
स्मरणीयछः सिन्धुली अस्पतालमा भिडियो एक्सरे बिग्रिएको महिनौं बित्न लाग्यो तर अहिलेसम्म त्यो सञ्चालनमा आउन सकेन । बरु अस्पतालका डाक्टरहरुले विरामीहरुलाई निजी क्लिनिकमा रेफरगर्दै आइरहेका छन् । अहिले सिन्धुली अस्पतालको लाइन अनुसार एन्जल क्लिनिकमा विरामीहरु पठाउँदै आएपछि आफुहरु त्यहाँबाट ठगिंदै आएको एक विरामीले भने । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले मुख्य समाचार बनाएर प्रकाशन गरेको छ ।