किन गएनन् प्रचण्ड बोआओ सम्मेलनमा !

सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिएः ‘म विश्वस्त छु कि हामीले सँगसँगै बाटो तय गरेर नै समृद्ध भविष्य, एक साझा एसियाली भविष्यतर्फ यात्रा गर्न सक्छौं ।’ उनले अगाडि भनेका थिएः ‘अझ सम्पन्न विश्व निर्माण गर्न हामीले अलगवाद होइन समावेशी, संरक्षणवाद होइन साझेदारी, पर्खाल होइन पुल, डर होइन स्वतन्त्रताको लागि पहलकदमी लिनुपर्छ ।’ तर आज तिनै प्रचण्डले उक्त सम्मेलनमा जाने निर्णय अस्वीकार गरे ।
चीनले आयोजना गरेको एसियाली विमर्श मञ्च बोआओ फोरम फर एसियामा वक्ताको रुपमा उनलाई आमन्त्रण गरिएको थियो । सन् २०१६ मार्च २५ मा उनले लिखित मन्तव्य दिएका थिए । मन्तव्यको शीर्षक ‘एसियाको नयाँ भविष्यः नयाँ गतिशीलता, नयाँ भिजन’ थियो । मन्तव्यको अन्त्यमा प्रचण्डले माथि उल्लेखित कुरा भनेका थिए ।
एसियाली फोरममा एसियाली मुद्दामा सँगसँगै हिँड्ने, अलगवाद होइन समावेशीको पक्षमा बोआओ फोरमका दुई संस्करणमा मन्तव्य दिएका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि भने बोआओ फोरममा उनैले भनेको सँगसँगै हिँड्ने लाइनमा अडिग रहेनन् । उनी समावेशीको पक्षमा अडिग भएनन् । उनी नजाँदा बोआओ फोरममा नेपालको उच्चस्तरीय उपस्थिति हुन सकेन ।
बोआओ फोरममा उपस्थितिको लागि चिनियाँ राजदूत चेन सोङले गत फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिएका थिए । प्रचण्डका निजी सचिव रमेश मल्लले मिडियालाई सार्वजनिक रुपमा बोआओ फोरममा सहभागिताको लागि चिनियाँ राजदूतले निम्तो दिएको बताएका थिए ।
निम्तो आएको ३४औं दिनमा सुरु हुने बोआओ फोरममा प्रचण्ड सहभागी नभएका हुन् । सिंगापुर, मलेसिया, स्पेनका प्रधानमन्त्री सहभागी मञ्चमा सहभागी भएका छन् । मार्च २८ देखी ३१ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरममा ५० देशका २ हजार बढी सहभागी भएको चाइना डेलीले समाचार लेखेको छ । फोरममा आउने शीर्ष नेताहरुमा सिंगापुरका प्रधानमन्त्री लि सिएन लोङ, मलेसियाका प्रधानमन्त्री दातुक सेरी अन्वर इब्राहिम, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस, आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिभालगायत उपस्थित हुने चीनको विश्व च्यानल सीजीटीएनले जानकारी दिएको छ ।
स्विटजरल्याण्डमा चल्ने डाभोस तहकै एसियाली मञ्चको रुपमा चीनले विकास गरेको बोआओ फोरम फर एसिया चीनको सानो शहर बोआओको नाममा राखिएको हो । सन् २००१ मा चीनसहित २९ देश मिलेर स्थापना गरेको बोआओ फोरम फर एसियालाई एसियाको स्थापित मञ्च बनाउने चिनियाँ प्रयत्न देखिन्छ । चीन सरकारले यसको धेरै प्रवद्र्धन गरिरहेको छ । व्यापार, शिक्षा, दिगो विकासदेखि विभिन्न विकासे मुद्दामा बहस गर्ने गर्छ ।
प्रधानमन्त्री प्रचण्डले बोआओ फोरममा सहभागिता नजनाउनुको कारण भूराजनीतिक भएको चिनियाँ विज्ञले बताएका छन् । केही समय अगाडि नेपालको चीनस्थित दुतावासले गरेको चिनियाँ प्राज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राध्यापक झाङ सुविनले प्रचण्डको बोआओ फोरम फर एसियाको अनुपस्थितिलाई भूराजनीतिक कारण देखाएका छन् ।
नेपाल विज्ञको पहिचान बनाएका चीनको हेबेइन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका प्रमुखसमेत रहेका प्राध्यापक सुविनले दूतावासको कार्यक्रममा भनेका थिए, ‘हामीलाई जानकारी छ कि नेपाललाई चीनले आधिकारिक निमन्त्रणा पठाए पनि नेपालका प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसियामा सहभागिता जनाइरहेका छैनन् । त्यसको पछाडि भूराजनीतिक कारण जोडिएको छ ।
चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले प्रचण्डले बोआओ फोरममा नजानु गल्ती भएको बताएका छन् । त्यत्रो ठूलो मञ्चमा विश्वभरका कुराहरु बुझ्न सकिन्थ्यो, सिक्न सकिन्थ्यो, कार्कीले भने, ‘नगएर राम्रो भएन । राम्रो सन्देश पनि गएन ।’