आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।
हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं २०४६ सालको जन आन्दोलन पछि बनेको मल्लिक आयोग र २०६२ र २०६३ को जनआन्दोलन पछि बनेको राय माझी आयोगका प्रतिबेदनहरु लाई यिनै नेताहरुले गायब पारे । तिनै पञ्च र लोकतन्त्र बिरोधी पार्टीहरुलाई बोकेर अहिलेका मौजुदा नेताहरुले सत्ता लिप्साको घिनलाग्दो फोहोरी खेलहरु खेले । उनीहरुकौ निर्देशनमा ती शक्तिशाली आयोगका प्रतिवेदन कार्यान्वयनमा ल्याईदिएको भए अहिलेको जस्तो चरम राजनैतिक संकट पनि उत्पन्न हुने थिएन ।
जसलाई बुँई चढाएर बोकेर ल्याइयो आज उसैले बारम्बार अप्ठेरो पारिहेको छ । नेपालीमा एउटा उखान छः दुःख पाइस मंगले, आफ्नै ढंगले भनेझैं दलका नेता र उनीहरुको व्यवहार त्यही उखानजस्तै भइरहेको छ । आज मेडिकल माफिया दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देन उफ्रिनु र राजतन्त्र फर्काउने उद्घोष गर्दै लावालस्कर ओसार पसार गरिनु यसकै ज्वलन्त उदाहरण हो ।
हामिले २०४६ सालको जनाअन्दोलन देखि यता बनाएका मन्त्री संसद वा टिकटबाट चुनाब लडेका र जितेका वा हारेका, राजनीतिक नियुक्ति पाएका वा पार्टीबाट अबसर पाएका ब्यक्ति आज सम्बन्धित राजनीति दलमा वा उनकै समर्थनमा वा नेपाल देशको पक्षमा छन् त ? उनीहरु अहिले कहाँ र कुन ठाँउमा छन् हेरेका छांै ? वा खोजबीन गरेका छौ ?
आज लोकतन्त्रको विरुद्धमा, प्राप्त उपलब्धि विरुद्धमा निरन्तर रुपमा कुरा उठिरहेको छ । त्यसका विरुद्ध आवाज उठाउनु पर्ने र जनतालाई विश्वास दिलाउनु पर्ने सरकार लुटको सत्ता लम्व्याउनै व्यस्त देखिन्छ । अस्थिरता, अराजकता र कानूनलाई हातमा लिने सरकारी शैलीले लोकतन्त्र विरुद्ध उठेको आवाजलाई निस्तेज पार्न सकेन । जन संघर्षबाट प्राप्त भएका उपलव्धीहरुको रक्षाका लागि राजनैतिक परिवर्तनका लागि लडेका दलका नेता कार्यकर्ताहरु सक्रिय हुनु पर्दथ्यो तर त्यसो हुनै सकेन ।
लोकतन्त्र विरुद्ध उठेको आवाजलाई निस्तेज पार्न दलका नेताहरुले खोइ त पार्टीका नेता कार्यकर्ता र जन बर्गिय संगठनहरु परिचालन गरेको ? अरु बेला निकै तडक भडकका साथ निस्कनेहरु अहिले कहाँ छन् ? के नेताकै चाकरीका लागी दलहरूले भातृ संस्थाको स्थापना गरेका हुन् ? जव नेता कार्यकर्ताहरु विचार र सिद्धान्तद्धारा संगठित गर्न सकिंदैन तबसम्म नेताहरू सँग बसेर सेल्फी खिच्ने र फेसबुकमा फोटो खिच्नेकामहरु मात्रै गरियो, जसले गर्दा पार्टी र संगठन कमजोर बने र बनेका पनि धारिलो होइन भुत्ते बन्दै आए ।
झन नेपाली कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र, चिन्तन र व्यवहार लेखिसाध्यै छैन । रुपमा होकि सारमा हो कम्युनिस्ट बन्ने ? सबै कम्युनिष्ट नेता कार्यकर्ताले बुझ्न जरुरी छ । भोट हाल्दैमा एमाले हुने र एमाले हुँदैमा कम्युनिष्ट हुने संस्कार र संस्कृतिको विकास भएपछि संगठनात्मक अराजकता बढेर गएको तथ्यलाई सबैले स्वीकार्नु पर्छ ।
एउटा झुन्ड लिएर हिड्दैमा, नेता बनिन्न, पैसाको बलमा वा झुन्डको भरमा अबसर त पाइएला तर अबस्था भने कर्कलाको पातमा रहेको पानी जस्तै हुन्छ भन्ने हेक्का राख्न जरुरी हुन्छ । आज कम्युनिष्ट कार्यकर्ता भएर दुर्गा प्रसाई वा अरु लोकतन्त्र बिरोधिको बिपक्षमा बोल्न डराउनु किन ?
इतिहास साक्षी छः बिस २०६२ र २०६३ को आन्दोलनमा ज्यानको बाजि लगाएर हिड्नेहरु निराश र बिछिप्त अबस्थामा छन् । तर आन्दोलनमा कहीँ नदेखिएका घरमा लुकेर बसेकाहरुको चुरी फुरि अहिले केन्द्र, प्रदेश र स्थानीय सत्ता र पार्टी सत्तामासमेत ह्वात्तै बढेको देखिंदै छ ।
बाँचे सबथोक देख्न पाइन्छ भनेझैं सहजतामा अबसर पाउन कुदनेहरु असहजतामा कति कायर छन् चिनिन्छ । जननेता मदन भण्डारीले भन्नु भएको थियोः राजनितीमा थकाई भन्ने शब्दावली हुँदैन । अब नेकपा एमाले लाई सुदृढीकरण गरेर लान जरुरी छ । त्यसका निम्ती आफ्ना कमीकमजोरी स्वीकार्दै सर्व स्वीकार्य पार्टी र संगठन बनाउँदै एक नम्बरको पार्टी बनाउन आवश्यक छ ।
त्यसैले पार्टी वा संगठन गतिशिल बनाउन वा समाज परिवर्तन गर्न पहिला आफुबाटै थालनी गरिनु पर्छ ।
खासगरी २०७५ सालको एकीकरणपछि एमालेमा विकृति र विसंगति बढेका हुन् । नेताहरूबीच व्यक्तिगत महत्वाकांक्षा र पदीय हानथाप बढ्दै जाँदा त्यतिबेलादेखि नै पार्टीका नियमित बैठक, कार्यक्रम र छलफल भएनन् । कम्युनिष्ट क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि हराउँदै गयो । कम्युनिष्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त भयो । पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गयो । कार्यकर्ता लाखापाखा हुँदै गए । जसको भरणपोषण यद्यपि हुनसकेको छैन । यसपटक नेतृत्वसँग ग्रासरुटका कार्यकर्ताले यसको कारण खोज्नुपर्छ ।
आज पनि नेकपा एमालेमा पार्टीमा योगदान गरेका असली कम्युनिष्ट नेता कार्यकर्ताहरू पछाडि पारिएका छन् । गुण्डा, डन, दलाल, कमिसनखोर र पूँजीपतिहरूको चंगुलमा पार्टी फसेको छ । तिनैको बोलवाला र स्वार्थ अनुरूप पार्टीका गतिविधि सञ्चालन हुन लागेका छन् । सिङ्गो पार्टी माथिदेखि तलसम्म पूँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार भुत्ते भएको छ । हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता कार्यकर्ताले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अबस्थानैं छ । । यस्तो प्रवृत्ति र अवस्थाको अन्त्य कहिले हुनेछ भनेर ग्रासरुटका कार्यकर्ताले एमाले नेतृत्वसँग प्रश्न गर्नै पर्छ ।
अझै पनि नेकपा एमालेका थुप्रै नेता आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आम कार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिस्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ । यस्तो अबस्थामा थालिएको पार्टीको २ महिने अभियानले पार्टीलाई नयाँ शिराबाट नेपालकै १ नम्बरको पार्टी बनाउन सबैले एकै साथ प्रयत्न गर्न जरुरी देखिएको छ ।










