सिन्धुलीको दुधौलीमा एमालेको मिसन ग्रासरूट अभियानः नेतालाई खादा–माला लगाइएन र मञ्चमा पनि राखिएन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।
दुधौली नगरपालिका वडा नंं. ४ डाकाहा स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा सञ्चालक एमाले दुधौली नगरकमिटीका उपसचिव रमेश कार्कीले सभाहलमा बसिरहेका सचिव सुमन चौधरीलाई बैठकको अध्यक्षता गर्न आग्रह गरेभने बैठकको प्रमुख आतिथ्यताका लागि नेता खत्रीलाई आग्रह गरे । खत्रीले बसेको बेन्चबाटै उठेर सबैलाई अभिवादन गरे ।
बैठकमा सामेल भएको अन्य नेताहरुलाई एकमुष्ठ रुपमा यथा स्थानमा आसन ग्रहण गर्न कार्कीले आग्रह गरेपछि बैकमा एकछिन त सबै अचम्मित भए । दुधौलीमा विगतमा भएका पार्टी बैठक, प्रशिक्षण र भेलामा सहभागि नेताहरुलाई माला र खादाले स्वागत गरिन्थ्यो भने नेताहरुका लागि विषेश मञ्चको व्यवस्थागर्दै अगाडि राखिन्थ्यो । अर्थात नेताहरुलाई चुलो र कार्यकर्ताहरुलाई चौकोमा राखिन्थ्यो । शुक्रवार दिउँसो भएको बैठकको प्रारंभमा प्रमुख अतिथिका रुपमा उभिएका खत्रीले अहिले हामीले वर्ग भुलेका छौं, हामी बिग्रिएका छौं, अहिले नेकपा एमाले मोटो भएको छ, लाखौं कार्यकर्ताहरुछन् तर यती हुँदा हुँदै पनि बलियो छैनौं किनकी भोट हालेकै भरमा एमाले हुने र एमाले भएकै भरमा कम्युनिष्ट बन्ने संस्कृतिको बिकास भएपछि अहिले यो अबस्थामा आइपुगेको बताए ।
उनले अब बिगतमा जस्तो कार्यशैली र व्यवहारले पार्टी बलियो बन्न सक्तैन, त्यसैले हामीहरु तपाईहरुको अगाडि भाषण गर्न होइन, तपाई स्थानीय नेता कार्यकर्ताहरुको कुरा सुन्न उपस्थित भएका छौं, निर्धक्क भएर पार्टी र संगठन बलियो बनाउने सन्दर्भमा भएका राम्रा र नराम्रा कामहरु, नेतृत्वको कमी कमजोरी निर्धक्कसँग बताउनु होस् भनेपछि बैठकमा उपस्थित नगरकमिटी सदस्यहरु, जनवर्गिय संगठनका पदाधिकारीहरु चकित भए ।

No description available.

महान शहिदहरुप्रति मौन धारणागर्दे प्रारंभ भएको बैठकमा सदस्यहरुले पालै पालो पार्टी र संगठन कमजोर हुनुको कारणहरु बताउन थाले । सँगै रहेका नेताहरु आफ्नो आलोचना भएको हाँस्दै सुनिरहे । आलोचना रोक्न वा प्रतिवाद गर्न नेताहरुलाई समय दिइएन ।
पार्टीभित्र राजनैतिक तथा बैचारिक प्रशिक्षण नभएको, कमिटीहरु निश्क्रिय बनिरहेको, जनताका समस्याहरुसँग पार्टी नेतृत्व र कमिटीहरु नजोडिएको जस्ता थुप्रै प्रश्नहरु बैठकमा पालैपालो उठ्यो । एमाले नेता तिर्थ बरालले स्थानीय पार्टीका साथीहरु भन्दा नेताहरु बिग्रिएको र त्यसबाट ग्रासरुटमा थप समस्याहरु झाङ्गिएले त्यसलाई समाधान गर्न नेता कार्यकर्ताले संगठनात्मक अराजकतालाई अन्त्य गर्न आवश्यक रहेका बताएका थिए ।
सदस्यहरुको कुरा सकिएपछि बाग्मती प्रदेशकमिटी सदस्य घनश्यम राउतले पार्टीलाई सही ढंगले सञ्चालन गर्न र अभियानका क्रममा अरुलाई हाम्रा र हाम्रालाई राम्रा बनाउन जरुरी भएको बताए । उनले अरुलाई हाम्रो बनाउन खोज्ने तर हाम्रा भने कहिल्यै राम्रो र अनुशासित बन्न नसक्ने विगतको कमजोरीलाई स्वीकार्दै अगाडि बढ्न जरुरी भएको उल्लेख गरेका थिए ।
एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले भनेकाछन्ः हामीले हाम्रो पार्टीको धरातल बिर्सियौं, वर्ग भुल्यौं र वर्ग उत्थानमा लाग्नु पर्नेमा सामन्तहरुको सेवा गर्न पुग्यौं, त्यसैले हामी आफुहरुबाट भएको गल्ती र कमजोरी स्वीकार्दै ग्रासरुटसम्म आइपुगेका छौं ।
उनले नेता कार्यकर्ता मात्रै होइन स्थानीय गरेका राम्रा र नराम्रा कामहरुको अभिलेखिकरण गर्न आग्रहगर्दै जिल्ला पार्टीले तोकेका जिम्मेवारीहरु पुरा नगर्दा अहिले पार्टी भित्र अराजकता बढ्को र त्यसलाई छिट्टै नियन्त्रणमा लिन आवश्यक भएको बताए ।
नेकपा एमालेले थालेको दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालनका लागि जिम्मेवारी तोकिएपछि कार्यक्षेत्रमा पुगेका नेता खत्रीले २ महिनासम्म नेता कार्यकर्ताकै घरमा बस्ने र स्थानीय पार्टी कमिटीका समस्याहरुसँग जोडिएर समस्या सामाधानका लागि पहल गर्ने बताएका थिए ।
के तपाईहरु अब जनताकै घरमा बास बस्नु हुन्छ त ? एक नगरकमिटी सदस्यले सोधेपछि उनले प्रष्ट पार्दै भनेका थिएः नेकपा एमाले जनताबाटै कटेको छ, कार्यकर्ताबाट कटेको छ र नेताहरुमा सुविधाभोगी प्रवृत्ति बढेको छ । अब कोही पनि नेताहरु होटलमा बस्ने छैनन् जनताको घरमैं बस्नेछन् । सिन्धुलीमा ग्रासरुट अभियान सञ्चालन गरिरहँदा नेता कार्यकर्तालाई खादा, माला र मञ्चमा आसिन नगराउने एमालेको दुधौली नगरकमिटी मात्रै देखिएको छ ।

No description available.
No description available.